~ममता पन्त मिश्र~
नखोज मलाई अब तिमी
यहाँ जिन्दगी फेरी बल्झेर दुख्छ
आँसु सुकेको सिरानी पनि
फेरी आँसुले रुझेर भिजी दिन्छ
बिलौनामा बित्छ दिनहरू
यहाँ व्यथाहरू फेरी बढेर दुख्छ
सन्तापमा आँसुहरू, तप्किएर फेरी झरी दिन्छ
अनि पल्टाएर स्मृतिका पानाहरू
म फेरी क्षमा गर्न सक्दिन
हृदयका पानाभरी
म बसन्ती ल्याउन सक्दिन
अन्जुलिमा थापेको माया
छल्कि पोखियो त के भयो
म पाउजुको झङ्कारमा फेरी
मारुनी नाच्न सक्दिन
पहिरो गइसकेको मायालाई
रोक्न नखोज तिमी
यहाँ जिन्दगी नै भासिएर झर्दछ
नरोज मलाई फेरी तिमी
यहाँ ओभाएको घाउ
फेरी बल्झेर दुख्दछ ।
(कबिता र गीत संग्रह ‘हृदयका पानाहरुबाट)
– ममता पन्तमिश्र
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )