~गोपालबहादुर नेपाली~
ब्रह्मपुत्रको छेउमा बसी
म टाढासम्म हेर्छु
नाउहरू जाँदैछन् – आउँदैछन्
नदीका छालहरू – अनुभव गर्दछु
कहाँसम्म पुग्दछन्
गुवाहाटीदेखि बंगोप सागरसम्म
अझै कहाँसम्म?
लाश-लाशहरूको आगमन
दु:खी मन-चिन्तित मानिसहरू
चर्चा गर्छन् – शोकसभा गर्छन्
मलामी भएर आएका मानिसहरू सोच्दछन्
त्यसले के के गऱ्यो
उसका राम्रा कुराहरूबारे पनि चर्चा गर्छन्।
म अन्तरदेखि सम्झन्छु
मरेपछि त्यो मान्छे पञ्चतत्वमा विलाएर जान्छ
सम्झना मात्र रहन्छ
कसैले राम्रो गरेको छ भने
त्यसको बारेमा राम्रो सोच्दछन्
यदि केही नराम्रो गरेको छ भने
त्यो मऱ्यो – राम्रो भयो
भन्ने पनि हुँदछन्।
मानिस एक दिन मर्नु नै पर्छ
यदि हामीले राम्रो गरेका छौं भने
संसारले राम्रो भन्दछ
अथवा उसको चर्चा हुँदैन।