कथा : दौंतरी

~थीरुप्रसाद नेपाल~

किशोरले किताबको झोला कुममा झुण्डायो र पारि पाखातिर औंल्याउँदै उसको साथी दीपेन्द्रलाई हेरेर भन्यो, “क्या घाम लागेछ हगि…! कति छ्याङ्ग भएछ, हिजो यस्तो सफा दिन भएको भए कति आनन्द आउंथ्यो होला नि… क्या मज्जासित घुमिन्थ्यो, हिजो चाहीं दिनभरि सिम-सिम पानी आएर जाड़ो भएर के भएर घुम्नै पाइएन भनेजस्तो। तंलाई साँच्चि घरमा बाबाहरूले गाली त गर्नु भएन? हेर घरमा नसोधी अब चाहिँ कतै पनि नजाऊँ है – मलाई त झण्डै मार्नुभयो आमाबाबाले।”

उनीहरू सड़कै सड़क, तेर्सै तेर्सो स्कूलतिर गइरहेका थिए। गड्याप-गड्याप जुत्ता बजाउँदै अलकत्रामा। दीपेन्द्र अलिक हुनेखाने घरको, हेर्दा राम्रे नक्कले परिगा’को, बोलैया खालको र किशोर अलिक मध्य-मध्यम परिवारको र बाबा-आमाको आज्ञाकारी।

हिजो रामनवमीको छुट्टीमा माथि पुलुङथाङ डाँड़ातिर घुम्न घएका थिए। तिनीहरू गुराँस टिप्न गएका भन्थे। बजारबाट सेलरोटी, आलुदम, तित्तरीको चटनी तथा बोतलबन्द ठन्डा पेयहरू बोकेर गएका थिए। त्यो सब खर्च सबै दीपेन्द्रले नै आफ्नै गोजीबाट गरेको थियो।

“ओ, किशोर यो खान्छौ, त्यो खान्छौ?” भन्दै दीपेन्द्र किशोरलाई जहिले-तहिले सोधिबस्छ र कहिले-कहिले त स्कुले केटाकेटीले नखानुपर्ने खालका जिनिसहरू पनि देखाउँछ दीपेन्द्रले। किशोर बिचरा गरिब घरको केटो, नचाहिंदा वस्तुहरूसँग उसले त्यति राम्रो परिचय हुनै पाएन। उसको कैशोर्य यसरी नै येन-केन-प्रकारेण गुज्रिरहेकोछ।

हिजोको कुरा निकाल्दै भन्यो दीपेन्द्रले “छ्या, म त बाबाहरूले केही भन्नुभयो भने त आमालाई झन् दग्दी दिन थाल्छु पो… अस्ति एकखेप घरमा मलाई भक्कु करायो कि अन्त मेरो पालो दुइ-तीन दिन कान्छा मामाहरूको गाउँतिर गएर भुल्लिबसें। उता मामाले काम गरेको ठाउँमा कता-कता बसें कि अन्त यता आमा-बाबाको पुलिस स्टेशन र यता-उता फोन गराएर … खोज्दाको जास्ती चारैतिर कुदा-कुद, अलिक रिस मात्रै उठाएर हेरोस् न, म फेरि आलाराम लगाइदिन्छु। मसित काबु छन् घरका मान्छेहरू। म त ऱ्याक गर्छु नि।”

किशोरलाई मित्रको कुरो मन परेन तर यसलाई सम्झाउनु पनि साँपको बच्चालाई दुध तताएर खुवाउनु मात्रै हो। केही भन्यो कि बिचिकिहाल्छ। राम्रो भन्यो नराम्रो सुन्छ। तै पनि उसले विस्तारै फुस्फुसायो, “बित्थामा आफ्नै माता-पितालाई पिरोलो गरेर के पाइन्छ र दीपेन्द्र! यो कुरा फेरि स्कूलतिर पुग्यो भने साथीहरूले, सरहरूले सुन्नु हो भने कस्तो अप्ठ्यारो पर्छ। प्रिन्सिपलले एक्शन लिनसक्नु हुन्छ।”

“स्कूलमा पोल पुऱ्याउने विचार गरेको तैंले?” अब दीपेन्द्र पूरा झगड़ा गर्ने मूडमा आइहाल्यो।

“होइन मलाई पो पोल पुऱ्याउने आरोप?” किशोर पनि कहाँ कम्ति र “ए, तिम्रो सब कुरा साँच्चै सुनाउनु पर्ने हो भने म तिमीलाई आजको भोलि कहाँदेखि कहाँ पुऱ्याउन सक्छु तर त्यसो कहाँ गर्छु र म तिम्रो साथी मात्र होइन दौंतरी पनि हुँ र त्यति मात्र होइन शुभचिन्तक पनि हुँ।”

यस्तै कुराहरू गर्दै ती दुइ भाइ केटाहरू स्कूल पुगे। पढ़ाइ राम्रै चल्दै थियो तर विद्यार्थीको महत् कर्तव्य पढ़ाइ-लेखाइमा भन्दा बढ़्ता ध्यान उसको खेलकूदमै हुन्थ्यो तर किशोर भने पढ़ाइ-लेखाइमै बढ़ता ध्यान दिन्थ्यो।

वार्षिक परीक्षा पनि शरद् बित्नासाथ हतारमा आइरहेथ्यो। सबै विद्यार्थीहरू आ-आफ्ना पाठ्यक्रम घोक्न व्यस्त र मस्त थिए। किशोर बड़ो धुमधामका साथ पढ़िरहेथ्यो।

एक आइतबार दिउँसो दीपेन्द्र घुम्दै उसको घरमा पुग्यो। घरमा किशोरले होर्ल्याङमा मकै भुटिरहेको थियो। “जाऊँ घुम्न, म तंलाई लिन आएको, तल ठूलो पप सिङ्गर आएको छ अरे, कम्युनिटि भवनमा प्रोग्राम रै’छ, जाउँ, लु तयार होइहाल् त!”

किशोर किंकर्तव्यविमूढ़ भयो। घरमा अलिकति काम सघाउन पर्दा उसलाई पढ़ाइमा क्षति भएको अनुभव भइरहेको थियो, अब आफ्नो साथीले घुम्न, प्रोग्राम हेर्म जाऊँ भन्दा उ असमञ्जसमा पऱ्यो।

“होइन, प्लीज आज नजाऊँ, हेर दीपेन्द्र, हाम्रो यतिखेर खुबै जोड़तोड़का साथ परीक्षाको तयारीमा लाग्नुपर्ने समय हो। काम-कुरो एकातिर कुम्लो बोकी कता ठिमीतिर जानु…? होस्, पछि कुनै दिन हेरौंला ठूला-ठूला कलाकारहरूको प्रोग्राम।”

दीपेन्द्र रिसायो। चिया-मकै पनि खान मानेन उसले। “होस्, न जा तँ… म जान्छु, क्या मज्जा आउँछ, तँ गोबर गणेश किताबकै कीरा भएर कागज खाँदै बस्।” उ जुरुक्क उठेर हिंड़्यो। नभन्दै जे हुने थियो त्यही भयो। किशोर यसपल्टको परीक्षामा अव्व्ल दर्जाको अङ्क ल्याएर जिल्लाभरिमा प्रथम श्रेणी प्राप्त गरेर अभिनन्दित पनि भयो। नगद पुरस्कार र प्रशंसा-पत्र पनि प्राप्त गऱ्यो राज्यको शिक्षा एवं संस्कृति विभागबाट अनि उसको दौंतरी तीनवटा विषयमा रातो धर्का पाएर खेर गयो।

“हेर साथी, मैले भनेकै होइन, हाम्रो यतिखेर पढ्ने-लेख्ने बेला हो, खेल्ने-डुल्ने बेला होइन भनेर… अहिले कस्तो लाग्दैछ त? घरमा आमा-बाबाले केही भनेनन्?” एक दिन मौका पारेर किशोरले उसको साथीलाई सोधिहेऱ्यो।

“छ्या… पढ़ेर पनि के हुन्छ र! तँ पास भइस्… म फेल भएँ त के भो? तँभन्दा म राम्रै घरमा बस्छु, राम्रो लाउँछु, राम्रै खान्छु… तैंलेभन्दा मैले बेसी घुमेको छु। म तँभन्दा राम्रै फेमिलीको छोरा हुँ, बाघको मुख भोकै हुँदा पनि रातै हुन्छ।”

यति साह्रो अहङ्कारी उसको मित्र हुनसक्छ भनेर किशोरले कल्पना गरेको थिएन। यद्यपि उसको मित्र केही मात्रामा दम्भी छ भनेर उसलाई अवश्य अनुभव भएको हो। त्यसै दिनदेखि किशोरले मनमा एउटा सङ्कल्प लियो कि जीवनमा सफल हुनसकिएन भने अरूले त के कुरा आफ्नै इष्ट-मित्रले समेत अवहेलना गर्नेरहेछन्, तसर्थ जीवनमा कठोर सङ्घर्ष गर्नु नै पर्नेरहेछ।

उ उद्यमी त छँदै थियो, त्यस दिनदेखि घुंड़ा धसेरै जीवन सङ्घर्षमा लाग्यो।

तिमी एक कदम हिंड़, त्यसपछिका कदमहरूमा म तिमीलाई डोऱ्याउनेछु भनेर धर्मशास्त्रका वाणीहरूमा भनिएको कुरा पनि किशोरले अध्ययन-मनन गऱ्यो।

आज त्यस गरीबको झोपड़ीमा घाम लागेको छ।

धेरै-धेरै दु:खका दिनहरू देखेपछि आज त्यो सानो केटो किशोर, किशोरचन्द्र साहब भएको छ र त्यस इलाकाका सम्पन्न व्यक्तिको छोरो दीपेन्द्र, जो सानैदेखि धन-दौलत र सुखको पौलमा हुर्केको थियो र आमा-बाबुको अवाञ्छित पुल्पुलाइमा हुर्केको थियो, नशालु पदार्थको ओसार-पसार र बेच-बिखनको आरोपमा अदालत धाउँदैछ। आजका अरू मसिना ठिटाहरू गफ गर्दै-गर्दै अलकत्रे सड़कबाट त्यही बजारको स्कूलतिर जुत्ता बजाउँदै गड्याप-गड्यापको आवाज गरेर गइरहेछन्।

-सिक्किम

(स्रोत : रचनाकार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.