कविता : बाटो र वेदना

~रुपिन्द्र प्रभावी ‘कटु’~

बेला कुबेला दुखिरहने टाउको देखेर
पटकपटक दुखिरहन्छ यो टाउको
आज फेरि दुखेको छ– बिरानो ठाउँमा ।
यस पल तिम्रो कोमल हात
ढाडसको उच्च संवेदना सुसेल्दै
निधारतिर सल्बलाएको झझल्कोले
झन्दुखाएको छ टाउको
जब कि
ती हातहरु अचूक औषधी हुन्मेरा लागि ।

हृदयको विशाल झुपडीमा
हामी सँगै छौं
र पनि यहीं कतै म भूमिगत छु
कतै तिमी भूमिगत छ्यौ
यस क्षण
म सबैभन्दा बढी सम्झिइरहेको छु–
तिम्रो प्रसववेदना
हो, त्यही वेदनाजत्तिकै त नहोला
तैपनि मुटु दुखिरहन्छ भित्र कतै ।
भनें नि–
म सबैभन्दा बढी तिम्रै प्रसववेदना सम्झन्छु
वेदनाले तिमी कराउँथ्यौ जोडजोडले
सायद
तिमी मलाई गाली गर्दै थियौ
जसरी प्रसववेदनामा छट्पटिँदा प्रायः श्रीमतीहरु गर्छन्
तथापि उच्चारणसम्म गरिनौ धन्य !
तर म पढिरहेको थिएँ तिम्रो भावभङ्गिमा
र बाबु हुनुको गौरवभन्दा बढी
तिमीलाई पीडा दिनुकोहीनताबोधले ग्रस्त थिएँ
चुपचाप समयको प्रतीक्षामा ।

अहो ! कस्तो चर्को चिच्याएको मेरो छोरो !
माफ गर, हाम्रो छोरो,
उसको आवाज
मानौं, तमाम वेदनाहरुका विरुद्ध हो
स्वयम्आमाकै प्रसववेदनाका विरुद्ध पनि
मानौं,
उसले चिच्याएर घोषणा गरिरहेछ–
धर्तीका सारा अन्यायविरुद्धको महासङ्ग्राम ।

सङ्ग्रामको उद्घोष गर्दै आएको छोरो हेरेर
सङ्ग्रामविजेताको भावमा तिमीले मलाई हेर्दै
कान्तिमय सुसेलीले भनेकी थियौ नि– बधाई !
अहा ! म त अवाक पो भएछु त्यस बखत ।

म सम्झिइरहेको छु एक तमास–
कल्पनाको लहरे पीङ्मा टाउको समाउँदै मच्चिइरहेछु–
बाटोले हाम्रो छोरो पछ्याउला
कि हाम्रो छोरोले बाटो पछ्याउला ।

– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.