कविता : भ्रमको राज्यसत्ता

~रुपिन्द्र प्रभावी ‘कटु’~

उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट
आक्रान्त देश
उत्पीडितहरुको मौनताबाट
विशृङ्खलित क्रन्दन
हो, त्यही देशमा मौलाइरहेछ
पीडकहरुको साम्राज्य
हो, मेरो देशमा फस्टाइरहेछ
अन्धो राज्यसत्ताको बहिरो शासन ।

राष्ट्रिय स्वाभिमानको प्रश्न
जहर हो उसका लागि
समानताको सवाल तीर हो
न्यायको आवाज ऐंजेरु हो
हो, उसका लागि
चेतनाशून्य उत्पीति बस्तीहरु नै बेस छ
त्यहीं फस्टाउँछ उसको शासन सत्ता
त्यहीं मौलाउँछ उसको साम्राज्य ।

बराजुको जस्केलोबाट चिहाएर समय
मझेरी खन्छ
पुख्र्यौली अहम् खोज्छ
र हुँकार गर्छ उही शताब्दीको ठ्याँ ठ्याँ ।


साङ्लो खोज्छ
दाम्लो खोज्छ
र बाँध्न खोज्छ समयलाई आफ्नो काबुमा
ऊ अझै पनि
भाकल गर्छ
प्रार्थना गर्छ
कि उसको साम्राज्य अमर रहोस्
उसको शासन सत्ता अजर रहोस् ।

अधिकार ?
केको अधिकार ?
नागरिक सर्वोच्चता ?
केको नागरिक सर्वोच्चता ?
कहीं हुन सक्छ प्रभुका विरुद्ध बहस ?
कहीं हुन सक्छ रामका विरुद्ध अविश्वास ?
अहँ हुँदैन
आराध्यदेवका विरुद्ध कुनै बहस गर्ने अधिकार हुँदैन
प्रभुका अगाडि अर्को नागरिक सर्वोच्चता हुनै सक्दैन ।

हो, उसलाई पच्दैनन् यी यावत् प्रश्नहरु
ऊ सम्झन्छ
यसरी नै टिक्छ उसको शासन सत्ता
यसरी नै मौलाउँछ उसको साम्राज्य
तर उसलाई थाहा छ कि छैन
उसको आधार इलाका धरासायी भइसकेको छ
प्रभहरुको राजधानीमा हनुमानहरु आगो सल्काउन तयार छन् ।

– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.