~दीपा राई पुन~
बाटो अनि बाटै बाटो
गज्यांगुजुगं किरिगंमिरिंग
पाइतलाहरू हिँडिरहन्छन्
आहतमा पिल्सिएर
रोपिएको मनलाई
मुस्कानले छोपेर
संवेगका मौन जुलुस बोकेर
मनहरू कै ताँती छन्
रहस्यमय यी बाटाहरूमा
कसैलाई हिँड्दा हिँड्दै गन्तव्य
बाटैमा बाटो हराई दिन्छ
कसैलाई एकातिर जानु छ
अर्कै तिर पुराई दिन्छ
रहरको बाटो
विश्वासको शिखर छुने
कसलाई हुँदैन र !
कर्कलाको पातमा झरेको शीत भइजान्छ
फराकिलो सपना बाटोमा
कहाँ दोबाटो र चौबाटो आउँछ
एक मुटु दुई चिरा
छुटिन्दा मात्र थाह हुन्छ
बाटो जस्तै रहस्यमय मन
यसैले त प्रत्येक बिहान
उदाउँने घामले सिकाइरहन्छ
अँधेरोमा नै पीडालाई छाडेर
सबैलाई उज्यालो बाँड्नु
हुन त बाटो, बाटै बाटो
हिँड्दा हिँड्दै हराएर पनि
शिरूघारी या बगरमा पुगोस्
आफैले पैलाएर
आफ्नै डोबहरू
भोलि हराउनेलाई
छाड्न सकिन्छ
सम्भावनाका अनेक बाटो त
मूल बाटो छुटिए पछि नै आउँछ
बाटो ,बाटै बाटो
गोरेटो ,कच्ची बाटो, सडक
प्रत्येक जीवनलाई हिँडिरहनु छ
जीवनको रहस्य नबुझेर बुझ्नलाई
मनको थाँकमा
कुन मनमा आत्मा होला
चिन्नु छ त्यति बेला
जसको सम्झनाले मात्र
मन भित्रको बुद्धत्व जागोस्
भ्रमहरूबाट टुटेर
संसारको रीतलाई स्वीकार गरोस् ।
– हाल, बोस्टन, अमेरिका