कविता : घरको सम्झना

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

दैलो पोत्दै होलिन् श्रीमती ले सम्झना मेरो गर्दै ।
सोह्रश्राद्धदेखी नै चहलपहल परदेशी आउने घर ।
प्रतिक्षामा होलिन् खसमको आऊलान् दशैंमा भनी ।
कसरी जाँउ म घरमा साहुको ऋणको भारी बोकी ।

सधै सम्झना आउँछ घरको कति कुरा गरौं प्रियसीको ।
एकअर्काको आनी बानी थाहा नहुदै हिडेकोें परदेशतिर ।
सोह्र कटेकी थिईन् विवाह गर्दा म थिएँ अठाह्र को ।
एक–अर्काको भर–थेग हो विवाह म निष्ठुरी कति बनूँ ।

थर्थर हात कपाउँदै फर्फर ओंठ पार्दै बिदाई गरिन् ।
बुढी आमा मुख छोपी क्वाँ क्वाँ गर्दै रुदै थिईन ।
बाबा कस्ता थिए देख्न पाईन म टुहुरो कसरी भनौं ।
आमा ले लालन पालन गरी लक्का–जवान बनाईन ।

आएँ खाडी मुलुकमा घामको रापले म सुक्दै गा छु ।
साहुको ऋण तिर्नका लागि काममै लम्पट भा छु ।
हेर्नु पर्ने घरको दाल चामल नुन तेल ओषती अरु ।
गरिबको सानो कमाई ले महङ्गी थेग्न सकेन हजुर ।

जवान पत्निको बियोगमा धर्धर आसु खसाली रुन्छु ।
देशको नेतृत्व सक्षम नहुँदा अरुको बाँदा भै बसेकोछु ।
रहरलाग्छ बस्न हासिखुसि ले आफ्नै माटोको सुगन्धमा ।
चारबीस टेक्न लागेकी बुढीआमा, आसी कोदाली हातमा ।

कोही हुँदो रहेनछ गरिव दुःखी जनताका साथमा ।
हा प्रिय म छु परदेशमा तिमी छौ कि छैनौं घरमा ।
माईत गयौ कि बुढीआमालाई छोडी पति बियोगमा ।
फक्रन लागेको फूलमा भमरा बस्न खोज्दाहुन सधै ।

हाम्रोे रितिरिवाजमा भमराको प्रबेश बर्जीत छ है ।
बस्न दिनहुदैन भमरा स्वरुप हौ सति साबित्रीको ।
नारी पुरुष एक भै धान्नु छ रितिरिवाज संस्कार को ।
म भमरा बनेर डुल्दीन अरुको चुस्दीन रस फूलको ।

कसमखान्छु प्रिय भमरा भै रस चुसेको आफ्नै फूलको ।
स्मरण सुखद् मिलनको झुल्दै घर ससुराल गरेको ।
पुनः कहिले होला त्यस्तै सुखद् मिलन म परदेशी को ।
तातो तावामा शरिर भए नि मन साथमा प्रियसीको ।

सङ्घारैमा आएको छ दशैं के भनूँ मन रुन्छ परदेशीको ।
राख्नु जमरा घर लिपपोतगरि नपार्नु मन सानो कत्ती ।
आराधना गर्नु दुर्गाभवानीको अन्तकरण धोईपखालीगरी ।
लिनु आशिष आमाको हृदयले निधारमा टिका थापी ।
मेरो जीवन यस्तै भयो चिन्ता नगर्नु मेरी प्यारी ।

चलन थियो गाउँमा, डहर बाटो चौतारो सफा गर्ने ।
सँगै बसेर भलाकुसारी गर्दैे चाडवाड मनाऊने ।
आशीषको वर्षा नै हुन्थ्यो ठुलाबडाको कञ्चन हृदयको ।
सम्झँदै छु आज झल्झली कति रमाईलो हुन्थ्यो ।
१०

आशीष ले शेचन गर्थे हृदयमा मेरा सासु ससुराले ।
कहिलै दुःख नपरोस् हटोस् सबै बिध्नबाधा भन्दै ।
भक्कानीन्छ हृदय मेरो ति सब सपना जस्ता भए ।
कत्ति सम्झन्छु प्रियसीको हातसमाई ससुराल गएको ।
११

जागिर थियो स्वदेशमा कारखाना सरकारी थियो ।
जनताका सेबक हूँ भन्ने ले बेचिदिए उद्योग सबै ।
खोसियो हातमुख जोड्ने सहारा म बिदेशीनु पर्‍यो ।
यस्ताको शासनमा जनता खै सुखी होलान कहीले ।
१२

मिलेन घर आऊन चाडबाडमा नरमाइलो हुने भयो ।
दशैं मनाउन पठाएको छु खर्च आबश्यक जोरजाम गरे ।
अर्काेसाल आउँछु पक्कै घरमा घडा थापि स्वागत गरे ।
बिदा लिन्छु पियारी अहिले मन थामेर घरमा बस्दै गरे ।
१३

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.