कविता : कविज्यू बाटो देखाऊ

~कुबेर काका~


ए मेरा प्यारा
अन्धभक्त कविज्यूहरु !
किन अन्धकारमा बस्न राजी भई रहेछौ ?
किन मौन छौ तिमीहरु !
शब्दमा विद्युतीय शक्ति सञ्चारित प्रवाहित गर !
तिमी भित्र संसार उज्यालो पार्ने क्षमता छ त !
रटाईएका शब्द ओकलेर
किन आफूलाई प्रतियोगि बनाई रहेछौ ?
समाजलाई लगाम लगाएर अगाडि बढने प्रयत्न किन गर्दैनौ ?
यथार्थ प्रष्टाउन किन हिच्किचाई रहेछौ ?
साहित्य समाजको ऐना हुन्छ
साहित्यानुरागीले तिम्रो कविता सुन्दा ̷
तिमीले लेखेको कविता पाठ गर्दा
समाजको बस्तुस्थिति छर्लङ्ग हुनु पर्छ ।


तिम्रो बोलिले ज्वार भाटा चलाउन सक्तैन भने
भूगोल किन पढछौ ?
तिम्रो मौनताभित्र देश निसास्सी रहेछ
तिमीले हाँसेर गीत गाऊँदा माटो हँसाउन सकेन भने
गीत किन गाऊँछौं ?
तिम्रो चिन्तनमा काल डराएन भने
तिमी सडक गल्लीेमा हिडदा
तिमीलाई भुस्याहा कुकुरले पनि हेर्ने छैनन !
तिमीले सधै गदाहाको भारी बोकेरै बाँच्नु पर्नेछ !
अर्काले पिठ्युमा लदाएका ढुङ्गा बोकेर !


यथार्थ लुकाउन सक्तैनौ तिमीले रटाईएका शब्दको गीत गाएर
कसैले धारिम हात पारेर सराप्तै समुन्द्र सुक्तैन
किन लुकाऊँछौ आफ्ना भित्रका भावनाहरु
बास्तविकताले तिमीलाई पोल्दैन ?
तुवालोले दिन भरी सूर्य छेक्न सक्छ र !
किन दुई रुपैयाका लागि प्रतियोगि बनाऊँछौ आफूलाई
अर्थशास्त्र तिम्रो बाऊको कन्जुस्याईंमा छ
पूर्ति गर्ने साधन र श्रोत तिम्रो कवितामा हुनु पर्दछ
कृषकका आवश्यकताहरु पुरिएका छन
तिमीले खोस्रेर तिनलाई अंकुरित गर्दै हुर्काउन सक्नु पछ !
फूलाएर फलाउन सक्नु पर्छ ।
कतिञ्जेल बग्दछौ भावनामा
कतिञ्जेल घुटघुटी थुक निल्छौ कल्पिएर
बजारमा फिंजारिएका सौदा हेरेर !


कविज्यू !
मेरा शब्दले तिम्रो मर्ममा भेद ग¥यो भने
तिम्रो मस्तिष्क असन्तुलित भयो भने
चिन्तनको मलहम दल
भविष्यको चस्मा लगाऊ

आफूलाई निरिक्षण गर
तिमीले लगाएको भोटो कति ठाऊँमा उध्रिएको छ
अनि कति ठाऊँमा टालेको छ ।


अव पनि तिमी अन्धकार चिरेर
बाटो देखाउने प्रण गर्दैनौ भने
गोष्ठी र सम्मेलनहरुमा
शब्द चपाएरमात्र ओकल्छौ भने
आफूलाई मृत घोषित गरेर !
घरको बन्द कोठामा उघ्राएर बस
तिम्रो मौनता भङ्ग गर्न
बिहानीमा भाले बास्नेछ
तिमीलाई बोलाऊँदै एक दिन
सूर्यले झ्यालबाट रश्मी फ्याक्नेछ
त्यतिञ्जेल तिमी उग्राएर बस
तिमी सडक गल्लीमा भुक्तै नहिड
तिम्रो निन्द्रा भङ्ग गर्न म बिकुल फुक्ने छु
कविज्यू कविता पाठ गर्न
म अवश्य लिन आउने छु ।

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.