अनूदित चिन्तन निबन्ध : मनका ४ आयामहरू

~सदगुरु जग्गी वाशुदेव~
अनुवाद : विक्रम सुब्बा

पूर्विय यौगिक सोच अनुसार मानव “मन”का १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस भनेर यिनलाई ४ कसिममा (Categories) विभक्त गरिन्छ –
१) वुद्धि (Intellect);
२) मानस (Brain);
३)अहंकार (Identity); र
४) चित्त (Intelligence)  ।

वुद्धि (Intellect) – वुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार गरेर खोजतलास गरेर सप्रमाण पत्ता लगाएपछि मात्र ‘ठीक’ या ‘बेठीक’ भन्छ । यतिसम्म कि आमाको माया कस्तो छ? भन्ने कुरा सप्रमाण पत्ता लगाएर मात्र विश्वास गर्नको लागि आमालाई काटेर, चिरफार गरेर, आमाको मुटु-कलेजोका अणुअणुमाको विश्लेषण (५ ईन्द्रियहरूले आपूर्ति गरेका तथ्यांकका आधारमा) गरेर “आमाको माया”को अनुसन्धान गर्ने प्रोजेक्ट चलाउँलाझैँ गर्छ । सन्सारमा यही वुद्धिले शासन गर्दै आएकोछ र अन्य पक्षहरू गौण मानिएकाछन् । अफसोचको कुरा“वुद्धिमान”लाई नै सबैले “ठूलो” मान्छे ठानिरहेछन् । जुन सत्य होईन । किनभने ‘वुद्धि’ले त शिक्षा प्रणालीले, गुरु या समाजले, अध्ययनले जम्मा गरिदिएका सूचना-तथ्यांकहरू खेलाएर, पुनः जोडजाड विश्लेषण गरेर निचोड सुनाउँदै अरुलाई “हो कि क्या हो?” भन्ने मात्र पार्छ । अर्थात, वुद्धि खप्परको सन्दुसमा राखिएको “तथ्यांक”ले संकेत गरेकोभन्दा ठूलो सन्सार हेर्न वा देख्न नसक्ने हुन्छ । अहिलेका मानिसहरू यही “वुद्धि” अनुसार मात्र चल्ने भएर नै गडबढ भएकोछ । जब कि मनका अनेक आयामहरू मध्ये ‘वुद्धि’ केवल सिरिफ एउटा मात्र आयाम हो ।

मानिसले मनका अरु आयामपनि जानीनजानी थोर बहुत उपयोग गरिरहेका हुन्छन् तर सचेनतापूर्वक सबै आयामहरूको उपयोग भएकोछैन । यही भएर मानव शक्तिको १०% पनि उपयोग भएकोछैन भनिन्छ । किनभने मानिसलाई ९०% भन्दा बढि केवल “वुद्धि” चलाउँन मात्र तालिम दिँदै ल्याईयो । जसलेगर्दा उनीहरू अरुलाई झुक्याउँने, छलछाम गर्ने, उल्लु बनाउँने, आफु माथि पुग्ने, आदि काममा त चतुर देखिएकाछन् तर तिनलाई आफ्नै “जीवन”को अर्थ थाहा छैन । यति सम्म कि घरको आफ्नै कोठामा, घरको आँगन-सिकुवामा र समाजमा कसरी शान्तिपूर्वक“आफु” बाँच्ने? भन्ने बारे पनि तिनीहरू प्रष्ट छैनन् । परिणामस्वरुप काकतालि (By accident) का भरमा काम गरिरहेछन् र त्यसैलाई “सफलता” ठानिरहेछन् । अर्थात, उनीहरू सन्सार (कुनै न कुनै किसिमले) चलाउँन जान्ने तर आफुभित्रैको मन, उर्जा, संवेदना र आफ्नै शरिरलाई कसरी सन्चालन गर्ने बारे थाहा नभएको देखिन्छ ।

मानिसलाई “फिट” रहनु भन्यो सुन्दैन । स्वाभाविक रुपमा जिउँनोस् भन्यो पुटुस्सै भुँडि पाल्छ । यही हो वुद्धि मात्रको काम । “चित्त सुद्धि” छैन । वुद्धिले “तर्क” गर्दा “तुलना” गर्ने विधी (Method)पनि अपनाउँछ । उदाहरणको लागि यो सन्सारमा तिमी एक्लै छौ भने “तिमी” नै “महान” कि“तुच्छ” कसरी थाहा पाउँने? तर केही मूर्ख या वुद्धुहरूको वीचमा बसे त उनको “तलना”मा आफुलाई“महान” ठान्ने आधार मिल्ने भयो । बस् । वुद्धिले यही चातुर्य-चटक गरेर झुक्याउँछ ।

मानस (Brain) – यसका पनि थुप्रै तह(Layers) हुन्छन् । यो सिरिफ आँखाले देखिने ‘सेतो गिदी’ मात्र होइन । वास्तबमा यो शरिरका तन्तुतन्तुमा व्याप्त हुन्छ । यसको स्मरण शक्ती असाधारण किसिमको हुन्छ । यसले अहिलेको मात्र होइन लाखौँ वर्ष पुरानो कुरा पनि सम्झन सक्छ । जस्तैः तपाइँका पिता पुर्खा लाखौँ वर्ष अघि कस्ता थिए? वुद्धि (Intellect) ले भन्न सक्दैन तर यसबारे तपाइँको तन्तुतन्तुले भन्न भनिरहेको हुन्छ । तपाइँको आँखा, नाक, मुख, उचाई,आँखिभौँ, चौडाई, केश, केशको रंग र आकार-प्रकार, दारी, जुँगा, दाँतको आकार-प्रकार, हड्डीका लम्बाई जाँचिहेर्ने हो भने तपाइँका पितापूर्खा कस्ता थिए भनेर तिनले भन्छन् । अझ डीएनए जाँच गरपछि त ठ्याक्कै (विज्ञानले) भन्न सक्छ । यही शरिरभरि छरिएर बसेको स्मरण गर्न सक्ने कोषहरूलाई ‘मनोमय कोष’ भनिन्छ । शरिरको हरेक सेलहरूमा ‘स्मरण (Memory)’ र ‘चित्त(Intelligence)’ हुन्छ तर ‘वुद्धि (Intellect)’ हुँदैन । मानस (Brain) मा वुद्धि (Intellect) हुन्छ । पाश्चात्य मुलुकमा चलेको Mind शब्दले ले “मन”का सबै आयामहरू समेट्दैन ।

अहंकार (Identity) – पाश्चात्य मुलुकमा ‘अहंकार’लाई Ego भनि अनुवाद गरेपनि त्यो मिल्दैन । अहंकार भनेको ‘पहिचान भाव’ (Sense of identity) हो । मानिसको ‘वुद्धि (Intellect)’, अहंकार(Identity)सँग सिधै जोडिएको हुन्छ । अहंकारले नै पहिचान दिन्छ र “मै हुँ” भावना मानिसमा जगाउँछ । यो भएन भने मानिस पहिचान बिहिन र सबैले हेप्ने जन्तुमा परिणत हुन्छ । जब“अहंकार” सकृय हुन्छ तब मात्र “वुद्धि”ले काम गर्न थाल्छ । किनभने “वुद्धि” अहंकारको “दाश” हो । हाम्रो अहंकार (Identity) कुनै मुलुकमा, समाजमा या कुनै पनि ठाउँमा बाँच्न (Survival) को निम्ती नभई हुन्न । तर अहंकारले मात्र अघि बढ्दै र प्रगती-उन्नती गर्दै जान सकिन्न किनभने खप्पर(Brain box) मा (पाँच ईन्द्रियहरूले) हालिदिएको सिमित तथ्यांकका आधारमा चल्ने ‘वुद्धि’को सहारामा मात्र ‘अहंकार’ चलायमान हुन्छ । यसरी “अहंकार”ले अराएजस्तो मात्र “वुद्धि”ले काम गर्दा नै ‘अराजकता’, ‘समाज विरोधी (Anti-social) गतिविधी’ र ‘आतंकवाद’हरू जन्मकिने हो । मानव सभ्यता विकसित हुँदै आउँने क्रममा ‘अहंकार’ लगायत मानवका अन्य मन-उर्जाहरू समेत सन्चालन गरेर एकापसमा ‘द्वन्द र सहअस्तित्व (Conflict and co-existence)’ अपनाउँदै यहाँसम्म आईपुग्न संभव भएको हो ।

चित्त (Intelligence) – चित्तको स्मरण गर्ने क्षमता हुन्न । यो सिरिफ चित्त (Intelligence)हो, ब्रह्माण्ड जस्तो जोडदार अस्तित्वसहित उपस्थित छ यो मनको आयाम । यो छ र नै सबथोक हुन्छ । यो ‘स्मरण’को आधारमा चल्ने हुँदैन तर आफ्नै किसिमले चल्छ । वुद्धि अनुसार होइन यो चित्त चित्तजस्तै चल्छ । चित्त मनको सबैभन्दा अन्तिम विन्दु हो । यो जिउँदो-जाग्दो हुन्छ र यो नै मानवलाई रचना (Creation) र चेतना (Consciousness) सँग जोड्ने आधार बन्छ ।

चित्त २४ घण्टै (मानिस सुतेपनि जागेपनि) जाग्राम हुन्छ । वुद्धि त चाहिएको बेला आउँछ र जान्छ । मानिस जागिरहेको भए पनि वुद्धि फेल हुन सक्छ । तर, चित्त निभ्यो भने मानिस जिवित रहन्न । चित्तले नै मानिस जिउँदो भएको प्रमाण दिन्छ, मानिसलाई सँधै केही न केही गर्न उचाल्छ र जीवनलाई वास्तविक ‘जीवन’ बनाउँछ । यही “चित्त बुझे”पछि नै मानिसले आफ्ना सारा उर्जाहरूलाई जोडेर-संयोजन एकोहोर्‍याएर परिचालन गर्छ । परिणामस्वरुप कुनै पनि कुरा हासिल गर्न मानिस लागि पर्छ र हासिल गरिछाड्छ । सफल मानिसको रहस्य पनि यही हो ।“चित्त” बुझे मात्र कुनै पनि काम गर्ने नत्र नगर्ने गरे जसले पनि आफुले ‘ताकेको’ वा चिताएको पुग्छ । मन्दिरहरूमा वा पुजास्थलमा मानिसले “वर” माँग्ने वा “योगा” गर्ने वा “ध्यान” गर्ने पनि(कतै अलमल नगरी) एकोहोरो हुनको निम्ति यही ‘चित्त’लाई गरिने तालिम हो ।

दैव नै कमारो (The Devine Enslave) –  मनभित्रको “चित्त”लाई एकोहोर्‍याउँनको निम्ती ‘ईश्वर प्रानिध्यान (ईश्वरलाई समेत सेवक बनाउँने)’ योग गर्नु पर्छ भनिन्छ । यो योग गरे ईश्वरलाई समेत आफ्नो निम्ती भनेजस्तो कामहरू गर्ने कमारो बानउँन सकिन्छ । यसैले “योगी-ध्यानी”हरू भन्ने गर्छन् – “शीव मेरो कमारो हो । मेरो निम्ती शीवले सबथोक गरिदिन्छ, जुटाईदिन्छ ।“ हुन पनि योगी-ध्यानीहरूसँग केही हुँदैन तर चाहिएको पाएकै हुन्छन् । अर्थात, चित्तले जे चाहेको छ जीवनमा त्यो पक्कै हासिल हुन्छ । किनभने “चित्त बुझे”पछि मानिसभित्र निहित सारा “शक्ती” “उर्जा” त्यही चाहेको कुरा हासिल गर्न केन्द्रित हुन्छन् । त्यसैले “चित्त” नै वुद्धि, मानस र अहंकारभन्दा माथि, कुनै पनि सोच-विचारहरूभन्दा बलियो, कुनै पनि बिभाजनहरू भन्दा पूर्णता भएको सर्वशक्तीमान उर्जा हो । यो हरेक मानवभित्रै हुन्छ । जसले हरेक क्षण घटनाहरू घटाउँने र कामहरू गराउँने गरिरहेको हुन्छ । यसलाई आफुले भनेजस्तो किसिमले परिचालन मात्र गर्न जान्नु पर्छ । आज जो जसले जस्तो जीवन बाँचेको छ त्यो (भित्र) चित्तको तहमा उसले आफैले चाहेरै हासिल गरेको जीवन हो ।

टिप्पणीः उल्लेखित विवरणका आधारमा हेर्ने हो भने – ‘नेपालमा सामजिक विविधता छ’ भन्नुको अर्थ ‘फरक-फरक वुद्दि, मानस, अहंकार र चित्त भएका मानिसले भरिएका समाजहरू छन्’ भनेर बुझिन्छ । सबैको ‘चित्त’ बुझे मात्र तिनको बाँकि उर्जाहरू (वुद्धि, मानस र अहंकार) पनि मुलुकको प्रगती-उन्नतीको काममा जुट्छ नत्र वाधा-अवरोध (चाहे त्यो राजा होस् या सरकार होस् या शैनिक डिक्टेटर होस्) गर्ने निकाय, राजनैतिक व्यवस्था, अर्थतन्त्र, शैक्षिक तथा सामजिक प्रणालीहरूलाई बदल्न, उखेलेर फाल्न नै सबै मानिसको वुद्धि, मानस, अहंकार, चित्त युद्धस्तरमा दिनरात लागिरहन्छन् र सबैको “चित्त” बुझ्ने अवस्था आएपछि बल्ल ‘राजनैतिक स्थीरता’ हुन्छ । जुन‘स्थीरता’ कुनै पनि मुलुकको उन्नती-प्रगतीको निम्ती पूर्वशर्त हो । नेपालमै बनेका सुन्दर मन्दिरहरू लिच्छवी कालमै किन निर्माण भए? भनिन्छ नेपालको ईतिहासमा सबैभन्दा शान्तिपूर्ण अवस्था लिच्छवी कालमै थियो । परिणामस्वरुप सुन्दर मन्दिरहरूले भरिएको शहरहरूको निर्माण भयो ।

तर नेपालको ईतिहासमा धेरैजसो समाजका (शासक बाहेक) अरु समूह र समुदायको चित्त बुझ्ने किसिमले धेरै शासकले काम गरेनन् । यही कारण हो जसले गर्दा नेपाली जनता आफ्नो चित्त बुझ्ने किसिमको अवस्था आउँन नदिनेहरूको विरुद्धमा आफ्ना मन, वचन, कर्म सबै लगानी गरेर लडाइँमा सामेल हुँदै आएकाछन् । यो हिजो राणाका विरुद्ध, पञ्चका विरुद्ध, राजाको निरंकुश शासनका विरुद्ध लामो समय लागेर विकसित भएको जनताको संघर्षशील ‘डीएनए’ र ‘एन्टीबडी’पनि हुन् । जनताका शरिरका यिनै डीएनए र एन्टीबडीहरू आजका नयाँ शासकहरूमा निहित‘असमावेशी व्याक्टेरिया’हरूलाई ध्वस्त पार्न ‘बम’ भएर पडकिरहेछन् । जनताको चित्त नबुझेसम्म यही ‘चित्त’ले जनतालाई संघर्षमा सामेल गराइरहनेछ र हुँडारजस्ता आसमावेशी शासकहरूहरू सन्सारबाट हार्दै जाने कुरा (समय लाग्ला, तर) निश्चित छ ।

-सदगुरु जग्गी वाशुदेव/ईशा फाउण्डेशन

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in अनूदित निबन्ध, विचार मन्थन|चिन्तन and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.