~भेषराज रिजाल~
आँखामा अलिकति आँसुको गाजल
मुहारमा अलिकति उदासीको बादल
तर ओठमा हरदम स्माइल
मेरी सानी छोरी जस्तै
सुन्दर लाग्छे सनी मलाई !
वेष्ट लेकझैँ नीलो आँखा
चिनियाँ पहाडझैँ दृढ इच्छा
छाङ्सेली सडकझैँ विशाल मन
तैपनि, अलिकति बालापन
तर ओठमा हरदम स्माइल
मेरी सानी छोरी जस्तै
प्यारी लाग्छे सनी मलाई !
उसको–
बोलीमा जादू छ
मोहनी व्यवहारमा
सुन्दर सपना आँखामा
अटल विश्वास छातीमा
अगाध माया हृदयमा
ऊ धर्तीको सुन्दर सिर्जना
तैपनि, कुमालेको चक्कामा घुमिरहेको
काँचो माटोको भाँडा जस्ती
तर ओठमा हरदम स्माइल
मेरी सानी छोरी जस्तै
मायालु लाग्छे सनी मलाई !
बिरानो परदेशमा भुलिरहेछु म
उसको–
मायालु हेराइले
संगीतमय बोलीले
निश्छल व्यवहारले
पुष्पित स्माइलले
र बिर्सिरहेछु–
हजारौँ माइलको दुरी !
मेरी छोरी पनि कहाँ कम छ र ?
सगरमाथाको स्वाभिमानी शिर उठाएर
बुद्धका प्रज्ञा र करुणाका आँखाले हेर्दै
मेची–कालीको अङ्गालो फैलाएर
माया गर्छे मलाई
मेरा हजार सपनाभन्दा प्यारो छ
उसको माया मलाई !
झल्झली सम्झँदै
मेरी प्यारी छोरीलाई
आज सोचिरहेछु–
भोलि कसरी बिर्सुँला र
प्यारी सनीलाई पनि ?
मेरो मनमा बसेका छन्–
छोरी जस्ती सनी
र सनी जस्ती छोरी
र त, हरदम भनिरहेछु–
स्माइल छोरी !
स्माइल सनी !
चीनको होन्जाउबाट सांघाई जाँदा छोरी प्रज्ञा र चिनियाँ छोरी पेइ याङ (सनी) लाई सम्झँदै कोरिएको रचना
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )