लघुकथा : अचम्म

~रवीन्द्र तिमसेना~

निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा जुधाउँदै भनी, “अरूको बालै भएन नि, मलाई तपाईं आफ्नै दाइ जस्तो लाग्छ ।”

भोलिपल्ट विकासले अफिस आउनेबित्तिकै कमलाको कार्यकक्षमा छिरेर उसको टाउको मुसार्दै सोध्यो, “ओहो ! के छ मेरी मायालु बहिनीको हालखबर ?” कमलाले विकासलाई मज्जाले अङ्गालोमा कसेर जबाफ दिई, “सब ठिकठाक छ, अनि हजुरको नि ?” उनीहरूको सम्बन्धमा दाजुबहिनीबिच अपूर्व प्रेम स्फुरित भएको महसुस गर्न सकिन्थ्यो । सहकर्मीहरू विकास र कमलाको सम्बन्धलाई देख्दा पौराणिक कालका दाजुबहिनी यमराज र यमुनालाई सम्झिन्थे ।

उनीहरू निकै झ्याम्मिएछन् क्यारे । अहिले विकासले भाञ्जाजस्तो र कमलाले भतिजजस्तो मानेर आफ्नो बच्चा हुर्काउँदैछन् । अचम्मकोे कुरा के छ भने उनीहरूले जन्माएको बच्चाले ‘फुपू’ र ‘मामा’ भन्दा पहिला आमबच्चाहरूले जसरी नै ‘मामु’ र ‘पापा’ भन्न सिक्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.