कविता : ह्याप्पी म्यारी एनिर्भसरी डे दिदी

~दिल थापा~

दिदी हामी एउटै आमाको कोखबाट जन्मिए पनि |
एउटै आमाको लाम्टा चुसे पनि
एउटै आमाको काखमा खेलेर हुर्किए पनि
तिमीले जन्मघरबाट विस्थापित हुनुपर्ने रहेछ।
युद्धको चपेटामा परेको शरानार्थीजस्तै
सानोमा तिमीले भाइ हाम्रो घर ऊ त्यो भन्थ्यौं नि ।
घरबाट अलि टाढा खेल्न जाँदा ।
त्यो घर त मेरो मात्रा रहेछ।
तिम्रो होइन रैछ ।
तिमीले पराई घरलाई आफ्नो घर भन्नु पर्‍यो ।
जन्मघरलाई मेरो भाइको घर भन्नु पर्‍यो ।
तिम्रो सर्जनशील हातले पोतिएका घर
मेरो माइतीघर भन्नु पर्‍यो ।

तिमी आमाको काखमा रमाउन सिकेको
एक वर्ष नपुग्दै
मैले तिम्रो काख खोसे ।
मतलब हामी वर्षौँ हौँ ।
तिमी एकदम कमजोर थियौँ रे ।
धानको गावाजस्तै ।
तिमीलाई सोनामै दुधुबज्यैले हुर्काउनु भयो ।
भएभरको बुढ्यौली माया दिएर
हाम्रो आमालाई जसरी नै ।
तिमी अलि ठुली भएपछि
जन्मघरमा फर्किनु भएको
मलाई मिठो सम्झना छ आज पनि ।
आजभोलि तिमी तिम्रो माइतीघर आउँदा
तिनै सानी दिदी नै आए जस्तो लाग्छ ।

साँच्चै दिदी हामी कति गरिब थियौँ है।
गरिबीले हाम्रो परिवार कसरी पिल्सिएको थियौँ है।
तिमीले सकिनसकी घुमाएको झाँटोको मकैको गेडा जस्तै ।
त्यसैले त तिमी पढ्न पाएनौं ।
मैले जस्तै अक्षरको उज्यालो दानाहरू गन्न पाइनौ ।
मैले जस्तै अङ्कको जीवनको पानाहरू गन्न पाइनौ ।
म पनि कसरी अलिकति भए पनि पढ्ने भएँ ।
आज मसँग त्यसको ठ्याक्कै उत्तर छैन।
अलिखित इतिहास जस्तै
हामी कैले कैले भेट्दा तिमीले मलाई सोधीथियौं नि
तैँले त्यस्तो बेलामा पनि पढिस् कसरी भनेर ।
मैले किन पढ्न सकिन भनेर ।

दिदी तिम्रो बिहे भएको बाह्रौँ वसन्त पार गरेको छ।
यो बहार वर्षमा बहार वटै शिशिर पनि भाग्नु भएको छ।
तिमीलाई कति मात्तृशोख छ।
तिमीलाई कति छोराछोरीको चाहाना छ।
त्यो चाहाना गन्ने सक्ने कुनै अङ्क बनेको छैन।
त्यो चाहाना नाप्न सक्ने कुनै यन्त्र बनेको छैन।
हर कोसिसहरू विफल भएका छन्।

संसारको सबै दिदीहरूमध्ये सबैभन्दा भाग्यमानी दिदी तिमी हौँ।
सबैभन्दा बढी माया गर्ने श्रीमान् पाउनु भएको छ।
हरपल साथ दिने श्रीमान् पाउनु भएको छ।
तिमी सन्तानको आमा बन्न नसक्दा पनि ।
तिमी त्यही चिन्ताले ग्रसित हुँदा
ढाडस दिने श्रीमान् पाउनु भएको छ।
त्यो भन्दा पनि तिमीले
अर्का बिहे गर्न प्रस्ताव राख्दा
अस्वीकार गर्ने श्रीमान् पाउनु भएको छ।
तिमी भन्दा अर्का स्वास्नी मानिसको कल्पना गर्न सक्दिन भन्ने
तिमीप्रति सधैँ समर्पित रहने श्रीमान् पाउनु भएको छ।
तिमीलाई सधैँ अजर माया गर्ने श्रीमान् पाउनु भएको छ।
त्यसैले तिम्रो कोखमा सन्तान नभए पनि
तिमी सधैँ खुसी हुनुपर्छ
तिमी सधैँ खुसी रहनु पर्छ ।
ह्याप्पी म्यारी एनिर्भसरी डे दिदी ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.