~श्रीराम श्रेष्ठ~
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । उनले गजल मात्रै लेखिनन्– सिङ्गो कृति नै तयार पारिन् । जसको नाम दिइन् ‘माटो बोल्छ’ । यसभन्दा पहिले उनको ‘छुट्याइएका गुच्छाहरू’ गीतिसङ्ग्रह प्रकाशन भइसकेको हुँदा यो कृति दोस्रो हो । कृतिमा रहेका गजलहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित गरी जम्मा एक सय एक थानका साथै अधिकांश गजल पाँच शेरमा लेखिएको छ । गजल लेख्दा पाँच देखि ११ शेरसम्म रहन्छ । दुईवटा पङ्क्तिको एउटा शेर हुन्छ । प्रायः जसो गजलहरूमा बिजोड शेर रहेको हुन्छ । गजल एउटा पद्यात्मक विधा हो । गजल नेपालको भूमिमा जन्मेको होइन । हुन त हाइकु, ताङ्का, सेदोका, मण्डा, मुक्तक, सिजो जस्ता पनि अन्य देशबाट हाम्रो देशमा आयतीत नै हो । तर पनि यी सबै विधालाई सम्मान गरिसक्यौँ । त्यसो त नेपाली साहित्यमा गजल विधाले महत्वपूर्ण भइसकेको छ । मोतीराम भट्टको युग वि.सं. १९४० लाई मान्ने हो भने नेपाली गजलले १३४ वर्ष पार गरिसकेको छ ।
यस सङ्ग्रहका गजलहरूमा अधिकांश प्रेम प्रणयका अभिव्यक्ति पाइन्छ । यस अतिरिक्त गजलमा राष्ट्रप्रेम, सामाजिक विकृति विसङ्गति, अन्याय अत्याचार, रिसराग, सुखदुःख, हर्ष, विस्मात, सङ्घर्ष, पीडा, संयोग, वियोग, कला संस्कृति, व्यङ्ग्य चेत, विचलन, गरिबी, अपराध, मनोवेदना, मानवीय मूल्य र मान्यता, कुण्ठा, शोषण, सहानुभूति जस्ता अनेक बिम्बहरूको सार्थक सृजना गरेकी छन् ।
वि.सं. २०४३ असार ७ मा स्थानीय विदुर नगरपालिका वडा नं. ८ क्यौरिनी, नुवाकोटमा पिता प्रेमबहादुर खनाल र माता मानकुमारी खनालको कोखबाट जन्मिएकी कवि खनाल पेसागत हिसाबले शिक्षण पेसामा आबद्ध छिन् । बँचेखुचेको समय साहित्य क्षेत्रमा दिलचश्वी राख्दै आएकी छन् । विभिन्न रचना वाचन कार्यक्रममा उनको मीठो स्वरमा गाएको गजलले सबैको मन खिच्दछ । उनी नुवाकोट साहित्य प्रतिष्ठान, महिला अभियान सञ्जाल, साहित्य समाज, सेतो गुराँसजस्ता सामाजिक संस्थामा आबद्ध रहेकी छन् । नेपाली वाङ्मयलाई समृद्ध तुल्याउन प्रयत्नशील भएर लागेकी भगवतीका गजलहरू शक्तिशाली देखिन्छ । रचना सृजना गर्नु सर्जकमा भर पर्ने कुरा हो । भन्ने नै हो भने रचना सिर्जना गर्नु जोखिम मोल्नु नै हो ।
उनले समसामयिक विषयवस्तु र आफ्नो मनमा उब्जिएका भावनाहरूलाई गजलमा शब्द संयोजन सम्प्रेप्य, चित्ताकर्षक र जीवन्त लाग्छ । थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिन्छ गजलमा । पहिलो शेर र दोस्रो पङ्क्तिबीच पारस्परिक सम्बन्ध हुनै पर्छ । अझ मतला, मुक्ता, रदिफ, काफिया र तखल्लुस जस्ता गजलका आधारभूत व्याकरण हुन् । गजलमा रदिफको खासै आवश्यकता पर्दैन । रदिफबिना पनि गजल लेख्न सकिन्छ । तर काफियाबिना गजल हुँदैन तथापि यसका अलवा लय, भाव, अलङ्कार प्रतीक आदिको संयोजन गर्नुपर्दछ । यसप्रति गजलकार भगवती सफल भएको देखिन्छ ।
नेपाल भौगोलिक वनोटमा विविधता छ । हिमाल, पहाड र तराई विभाजित भूगोलको दृश्यको अनुभूतले मनलाई नै शान्त तुल्याउँछ । सेताम्ये देखिने हिमालका टाकुरा नेपाल र नेपालीको शिरझैँ अटल रहेको छ । बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुका साथै प्रशस्तै मात्रामा पानीका स्रोत पाइने हिमाली भेग वरदान सावित भएको छ । दुर्गम र विकटताका कारणले गर्दा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन तुलनात्मक रूपमा कष्टकर देखिन्छ । पहाडी र तराई क्षेत्रमा भन्ने जमिनको सहजताले गर्दा जीवनक्रम सुखद देखिन्छ । हाम्रो देशको आम्दानीको प्रमुख स्रोतको रूपमा कृषिलाई नै लिइँदै आएको छ । वैज्ञानिक ढङ्गले उत्पादित उब्जनीको आयस्रोतमा वृद्धि भएको छ । पहाडी र तराई क्षेत्रका जमिन मोती फल्ने वरदान सावित भएको छ । पानी नै पानीले भरिभराउ हुने मुलुक नेपाल । पर्याप्त मात्रामा पानीको सदुपयोग हुन सकेको छैन । अधिकांश पानी बगेर अन्य देशमा गएको टुलुटुली हेर्न बाध्य भएका छौँ हामी । तसर्थ उनले राज्य पक्षलाई सोच्नबाध्य बनाउनका लागि गजल यस्तो लेखेका छन्:
हिमाल सब शिर भए ।
यो पहाड तक्दिर भए ।।
तराईको झन् के पीर ।
हो मोतीको मन्दिर भए ।।
विश्वको मानचित्रमा सानो मुलुक हो हाम्रो देश । अशिक्षा र गरिबीको कारणले मुलुकले सही ढङ्गले गति लिन सकेको छैन । गरिबी र बेरोजगारीका कारण नागरिकको आम्दानीका स्रोत नगण्य देखिन्छ । जीवन गुजारा चलाउन नै धौधौ परेको छ । यिनै दीनदुःखी र सोझा जनता नै अन्ततः राजनैतिक दलको ढाल बन्न बाध्य भएका छन् । अविकसित देश भएका कारण राजनीति स्थिर हुने करै भएन । राज्य सञ्चालन गर्न बनेका नियम कानुन सही रूपमा कार्वान्वयन हुन सकेको छैन । जनतामा आक्रोश त्यतिकै छ । च्याउसरि उम्रेका छन् राजनैतिक दल । व्यक्तिगत र पार्टीगत स्वार्थमा सीमित भएका छन् राजनीति गर्नेहरू । बोलेका कुरा पूरा गर्न नसक्ने राजनैतिक दलका नेता नै नागरिकहरूबाट तिरस्कृत हुन बाध्य भएका छन् भन्ने भाव:
नेताहरूले आश्वासन छरेर गएछन् ।
आस गर्दागर्दै लौ जनता मरेर गएछन् ।।
०००
जति आए आफ्नै मात्र पेट भरेर गएछन् ।
मेरो मौलिक अधिकार नखोसिदेऊ भन्दा ।
हामी बाँचेको समाज साँघुरिएको छ चिन्तन–मननका हिसाबले । यही समाजमा व्याप्त विडम्बना र विसङ्गतिहरूलाई गजलमार्फतबाट यसरी अभिव्यक्त गर्न खोजिएको छ:
मान्छेले मान्छेलाई धेरै डसिरहेछ रे ।
मानवता दलदलमा खसिरहेछ रे ।।
०००
उभिन खोज्नेलाई त लडाउँछन् सबैले
जो उभियो ऊ झन् जालमा फसिरहेछ रे ।।
०००
मान्छेबीच मान्छे छान्नै गाह्रो छ ।
हेरे मानवता धान्नै गाह्रो छ ।।
०००
सबै बाँचौँ भन्ने मन भेटिँदैन ।
एकलकाटे सोच मान्नै गाह्रो छ ।।
राज्य सबैको साझा हो । राज्यलाई दुख्दा सबै नागरिकलाई दुख्नुपर्छ । राज्यलाई सङ्कट परेको खण्डमा सबै जुट्नुपर्छ । राज्य अभिभावक हो । राज्यबाट सञ्चालित सबै समान र सर्वमान्य हुनुपर्दछ । जब राज्यबाट जनता शोषित हुन्छ तब विद्रोह गर्न बाध्य हुन्छन् जनताहरू । हो हाम्रो मुलुकमा पनि यस्तै घटनाक्रम जोडियो । निरङ्कुश पञ्चायती व्यवस्थाको जनभावना विपरीतको गतिविधिले गर्दा जनआन्दोलन २०४६ ले प्रजातन्त्र प्राप्त भयो । छोटो समयमा राजसंस्थाले निरङ्कुशता लाड्ने क्रम भयो । राजनैतिक दलहरू विरोधमा लाग्न थाले । हत्या हिंसाले प्रशय पायो । आफू-आफूबीच भएको द्वन्द्वले कोही कसैलाई फाइदा नहुने तसर्थ मिलेर नै समस्या सुल्झाउन सकिने भाव गजलमार्फत उहाँ यसरी व्यक्त गर्नुहुन्छ:
बाँच्ने कसरी देश दुखाएर हामी ।
यो आफ्नै शिर सब झुकाएर हामी ।।
सक्दैनौँ हामी जिउन कतै बेग्लाबेग्लै ।
नेपाली पहिचान लुकाएर हामी ।।
स्वतन्त्रताका लागि सहिदहरूले हाँसी हाँसी आफूलाई बलिदानी दिए । ती वीर सहिदको सपनामाथि कुठाराघात गर्न किञ्चित हुँदैन:
सहिदका बलिदान बेचेर खाँदैछन् ।
आफ्नै ती आँखा र कान बेचेर खाँदैछन् ।।
हिजो पुर्खाले दुःखले आर्जेको भूमि यो ।
आज गर्दै तानातान बेचेर खाँदैछन् ।।
फूल रोपेर घर सजाउनेहरूले ।
हेर फूलको बगान बेचेर खाँदैछन् ।।
जीवनको गति अनौठो हुन्छ । एक्लै बस्न सक्दिनन् उनी, बस्न खोजे पनि । उमेर र वातावरणले मानिसलाई कहाँ पु¥याउँछ भन्न सकिँदैन । त्यो हरियाली देखेर उनी मुग्ध हुन्छिन् । त्यही छायाँमा आफ्नो जीवन गति सरल किसिमले बगिरहोस् भन्ने कल्पना गर्न पनि बिर्सिंदिनन् उनी । कल्पना गर्दा गर्दै उनका सपनाहरू ताजा भएर आफ्नो आँखा अगाडि घुमिरहँदा उनको मन आत्तिन थाल्छ । आफूले सम्झेको मान्छेले आफैलाई धोका दिएको कुरा उनको आँखाअगाडि नाच्न थाल्छ । त्यतिले नपुगेर अझ आशामा चुर्लुम्म डुबाएर अझै आफ्नो प्रेम ताजा बनाउने सपना देख्छिन् ।
रात त्यति हो कहिले सम्झना दिलाउँछ कहिले झुन्ड्याएर निराशामा परिणत गरिदिन्छ । अनि सम्झना जिस्किँदै गरेका वाचाहरू र त्यसैमा अल्पिन थाल्छ । अनौठो लाग्ने जीवन सम्झना पुग्दा भगवती खनाल सुनाखरीको गजलहरूले यसरी झस्काऊन पुग्छ:
माया गर्दागर्दै कतै थाके नभन्नू नि ।
तिमी सहर मलाई पाखे नभन्नू नि ।।
०००
जल्यो भने यो मुटु अझै तेल थपे ।
दिनरात शरीर बाल्ने चिन्न गाह्रो हुन्छ ।।
०००
आराम गर्छन् आँखाले रात परेपछि ।
चोट थपी निद पूरा भगाउँछ छाड ।।
०००
आगो हो त्यो पोल्छ भन्ने थाहा हुँदाहुँदै ।
फेरि छाती जलाउन लौ टाँस्ने कसोगरी ।।
मान्छे एक विवेकशील सजीव प्राणी हो । हाम्रा सामु पहाडजस्तै दैनिकी बनिदिन्छन्– आपत्तिहरू । माटो बोल्छ जस्ता पीरहरू लिएर बाँचुन्जेल समस्यासँग जुध्दै बाँचिन्छ कालान्तरसम्म । जिन्दगीको यात्रामा यावत कुरा सिकिन्छ आफ्नो परिवेशबाट । जित मात्रै होइन जिन्दगी । हारेर पनि जितिने खेलचक्र हो जिन्दगी । अनुभव बटुल्दै जाँदा आफूमा परिपक्कता भएको महसुस गर्न नपाउँदै मातेर जिस्काउँछन् पीरहरूले । यसरी जीवित रहनुको सार्थक तुल्याउनका लागि सचेत भइ लाग्नुपर्ने आभास दिन्छन्:
मुटु र धमनी जोगाउन मुश्किल छ ।
हरदिन गनी जोगाउन मुश्किल छ ।।
मेरो घरको ढोकै अगाडि सिमानामा ।
गरिब र धनी जोगाउन मुश्किल छ ।।
चोरैचोर दुनियाँमा मन आफैसँग ।
हो सज्जन बनी जोगाउन मुश्किल छ ।।
अभिव्यक्ति विभिन्न रूप र शैलीबाट निस्किन्छ । गजलको एउटा परम्परा साहित्यमा देखा प-यो । विभिन्न अवस्थामा विभिन्न रूपको गजल निस्किन थाल्दा यसका मोडहरू पनि फरक हुन थाले । कवितात्मक रूपमा लयपूर्ण रसिलो आवाजले मुग्ध पार्ने काम पनि भयो । प्रेम गर्ने वाहना, कुरा गर्ने तरिका र आफ्नो दिलभित्र लुकाएको प्रेमलाई सजिलैसँग खुलेर भन्ने अवस्था पनि तयार पार्ने काम गजलले सुरु ग-यो । नाच्दै, जिस्किँदा, टासिँदैको क्षणले जन्माएको प्रेमको टुसो पनि देखापर्छ । ओइलिएर जान पनि सक्छ । मौलाएर आकाश हुन पनि पुग्छ । गफ गर्दागर्दै के के हुन्छ ? के हो । आँखा निहुरिन सक्छ त्यही आँखाले आँसु पनि झर्न सक्छ:
मुटु लुटी फरार हुने दाउमा रै’छो क्यारे ।
तिमी पनि पुरानो त्यही घाउमा रै’छौ क्यारे ।।
०००
विन्ती अब माया धेरै बढाउन छाड ।
घरीघरी मेरै बलि चढाउन छाड ।।
०००
के के भयो पत्तै पाइनँ मैले ।
हिजोअस्तिभन्दा आज रमाइलो ।।
कृतिमा समावेश भएका प्रायः जसो गजलमा रदिफ र काफियाको संयोजन ठीक ढङ्गले भएका छन् । जस्तै ः
तिमी एउटा हात बन्नू, अर्को हात म बनुँला ।
फूलैफूल बने तिमी, हो फेरि पात म बनुँला ।।
गजलकार भगवती खनाल सुनाखरीले लज्जिद जिन्दगी भावमा गएर अन्ततः गजलको बिट मारेकी छन् । पक्कै पनि हामी बाँचेको समाज विचित्रको छ । भनिन्छ– बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल बिक्दैन यहाँ । समाज र राष्ट्रको सर्वोपरी हित ठानी कर्मशील व्यक्तिको मान सम्मान हुन सकेको छैन । आफू जलेर अर्कालाई उज्यालो दिने व्यक्ति सधैँ जसो ओझेलमा परेका हुन्छन् । व्याप्त विकृति र विसङ्गतिले समाज नै घृणित बनाएको छ । स्वार्थको आलमा चुर्लुम डुब्नेहरूको रवैयाले गर्दा समाजलाई नै लज्जित तुल्याएको छ । त्यसैले समाज परिवर्तनका लागि असल र खराब छुट्याउन सक्नुपर्छ:
रात बितेर उज्यालो छायो ।
तर खै न्यानो घाम मिल्दैन ।।
जो माटोकै निम्ति म-यो यहाँ ।
उसलाई सलाम मिल्दैन ।।
अन्तमा, नवपुस्ताका क्रियाशील गजलकार भगवती खनाल ‘सुनाखरी’को नूतन गजलहरूको सङ्ग्रह ‘माटो बोल्छ’ राम्रो छ, पठनीय छ । त्रुटि छनैनै भन्ने चाहिँ होइन । उनको अघिल्लो कृतिले जस्तै यो कृतिले पूर्ण सफलता पाउने छ भन्ने कुरामा म विश्वस्त छु । सदैव भाषागत र नियमगत रूपमा गजलहरू लेखिँदै जाओस् । यस्तै र अझ सुन्दर गजलका कृतिका साथै अन्य साहित्यिक कृतिहरू प्रकाशन हुँदै जाओस् । उत्तरोत्तर प्रगति र शुभकामना !
बट्टार, नुवाकोट ।
cicnuwakot@gmail.com