कविता : वादका नङ्ग्राले चिथोरिएका आकृतिहरू

~कुबेर काका~


वादका नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू
मक्किएर भाँचिन लागेका निदाल र दलिनहरूबाट जोगिँदै
झस्केला र आँखीझ्यालहरूबाट
चोकका गल्ली गल्लीमा
आत्मरतिमा रमाएर
फुस्रो आश्वासन बाँड्दै हिडने लम्पटहरूलाई
नियालेर निरीक्षण गरी रहेछन्
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू


जनवादको नाममा वर्गीय नेतृत्व गर्ने छद्म तापसीहरु
फरियाको इसारामा सिसहार ओसार्ने भरियाहरू
वादको खोलभित्र अकुत कुम्ल्याउने करियाहरु
सत्तामा बसेर भत्तामा पल्किएका प्राडो भोगिहरु
जनमत उभिण्डिएका गरियाहरु
मत माग्ने मेलामा भेला भएर
रतौली गाएको सुन्दा
अनुहार लुकाएर मूल्याङ्कन गरी रहेछन्
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू


चार्वाकको अनुसरण गरेर
जीवन भोग्नका लागि हो
सुखका लागि हा भन्नेहरू
हाडका मासी सुक्न थाले पछि
निराकारलाई निन्दा गर्ने
साकारवादीहरू
छद्म भेषमा शून्यमा टोलाउँदै
जीवनको स्पन्दनलाई छाम्दै
गति यतिको भ¥याङ्गमा
तलमाथि गरी
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू


निमुखा निर्धालाई बलिको बेदीमा उभ्याउदै
संसार गतिशील र परिबत्र्तनशिल छ भन्ने
परिवत्र्तनकामीहरु
आँखामा छारो छरेर
उत्र्सगी बन्ने दावानल सल्काउँदै
लम्पट बनेर
अन्तरभावलाई लत्याएर दवाउदै
शब्द शब्दलाई चपाएर ओकल्दै
द्वन्दात्मक भौतिक वादी हुँ भनेर
मार्क्सको असली अनुयायी भनेर
पूजिबादको छहारीमा विश्राम गर्दै
सामन्ती चरित्र मञ्चन गर्दै
हैकमवादको पक्ष पोषण गरेर
सर्बसत्ताबादी बनेर
साम्राज्यवादलाई आमन्त्रण गर्न
वर्ग शत्रु औँल्याएर निसाना बनाउँदै
अभिष्ठ पूर्तिका लागि
नोकरशाही दासताको चङ्गुलबाट फुत्कन नसकी
मुहान धमिल्याउदै
दुवाली थुनेर
पद प्रतिष्ठा र पैसाका लागि दलाली गर्दै
विश्वास घात गरेर
आत्मरतीमा पल्किएका भोगीहरुको
वादको कुम्लो बोक्ने रोगीहरूको
चर्तिकला हेरी रहेछन्
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू


सरल तर दुर्लभ
लरीमा बेरिएर धागोमा बाँधिएको
खुल्लाकासमा उडेको चङ्गाको धागो छिनाएर
खोलेर गुजुल्ट्याई दिई
सगेलेर बेर्न लगाउँदै
जीवनलाई पूर्णता दिने नाउमा
जटिल जालोमा लपेटेर
निरस बनाउँदै
शब्द शब्द केलाएर विवाद गराऊदै
व्यक्ति–व्यक्तिलाई भेदन गरेर
आत्मश्लाधकहरुको चर्तिकला हेरी रहेछन्
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू


तिक्तता बढाउँदै
सङ्घर्षशील बन्दै
मान्छेको भिडमा एक्लिएर
मानवतालाई लत्याउदै
अङ्क बिर्सिएर शून्य सङ्कलन गर्दै
गदाहा जस्तै असार बस्तुको भारले थिचिएर
शाश्वत सत्यसँग डराएर
काल्पनिक परिभाषा दिदैं
मृत्युलाई स्विकार्न नसकी
स्मशान घाटमा नामेट हुनेको
जीवनको अन्तिम अस्तित्व नकारेर
बैरागिएर रन्थनिदै झोक्रिदै
मलामी गएको मान्छे
चिताको आगो पनि ननिभ्दै
अन्तिम श्रद्धाञ्जली समेत नदिई
आफू व्यस्त भएको आडम्बर देखाउँदै
सालिकमा आफ्नो चित्र उभ्याएर
अमर बन्ने चाहना बोकेर
पलायन भएको मान्छेलाई
हेरी रहेछन्
वादको नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.