~मिलन ढुङ्गाना~
पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट ।
छोपिने गरि मेरै मन छायौ कहाँबाट ।
धेरै भा’थ्यो प्रणयका रागहरु नसुनेको
गुञ्जदैछ जताततै गायौ कहाँबाट ।
शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो
अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।।
जुनतारा शर्माएर बादलुको घुम्टो हाले
बिहानीको लाली रुप पायौ कहाँबाट ।।।
तिम्रो मेरो दोभान यो पिरतिको मन्दिर रै’छ
नढाँटेर भन प्रिय धायौ कहाँबाट ।।।।
वियोगका गाँठोहरु कसिएको थियो धेरै
मिलनलाइ भेट्न आयौ फुकायौ कहाँबाट ।।।।।
पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट ।
छोपिने गरि मेरै मन छायौ कहाँबाट ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)