~दीपा राई पुन~
ए साइँली दिदी
किन पो दुख मान्छौ हौ !
तिमीले डबकामा जाँड बेचेर
आफैलाई बेचेनौ
आत्मालाई साक्षी राखेर
आज रहरैले
थुम्सेको भारी बोकेर
उकाली ओराली गरिरहेछौ
छोराछोरीको भविष्य भन्दै
क ख रा सिकाउन
यहाँ दुनियाँ त
विश्व बिधालय छिचोलेर
अहंमको भारीसँग
जीवनको माझधारमा
लम्पसार छन्
क ख रा ले थिचेर
तिमीले जस्तो
डबकामा जीवन
थुम्सेमा जीवन
पढेको भए न बुझुन जीवन
पटुकी कसेर पसिना चुहुँदा
तिम्रो पनि त सपनाले
आधा पेट बाँच्दै होला
जाबो एक पेट भरिको सपना त
तुहिनु पर्छ दिन दिन
यसरी शिक्षित बनाको सन्तानले
आफ्नै पाखा भित्ता चिन्छ चिन्दैन
भस्मे फाँडेको किपटको के कुरा !
तिम्रो त आफ्नै चोटामा संविधान छ
जहाँ पाइला टेक्छौ
नियम भित्र बाँच्छौ तिमी
प्रत्येक मौसम अन्नबाली लगाउँनु
खर काटेर छानो छाउनु
एकसरो कपास पसिनैले जुर्छ
दफा र उपदफाहरू
तिम्रो छात्तिमा लिपिबद्ध छ
तिमी पूर्ण छौ साइँली दिदी
– हाल, बोस्टन, अमेरिका