~प्रवीण राई जुमेली~
राजनीति र कलाहरुबाट तिम्रो जीवनलाई
खासै काम लाग्ने केही जीस्ट झिक्न नसकेको मैले
समयदेखि समयसम्मै रबिन्सन क्रुसोको डायस्पोरिक दुख देखिरहेछु
इतिहासको बर्बरता भिरेर सम्विधानको टापुमा
माटो सोधिँदाको बेइज्जतहरु बोकी
एउटा रातो बिगुलको स्वर उपहार दिन चाहन्छौ तिमी
जसभित्र घाउ भएर बसेको छ अन्यायका शोकगीतहरु
अनेकौं अक्षरहरुको रोदनमा बाँच्ने यो देशले तर
तिम्रो बोलीको अर्थलाई नबुझेको स्वाङ रच्छ
हाम्रो बाजे-बोज्यूहरुले यो राष्ट्रको अवधारणा पाउन
दिएको रगत सिंचेको पसिना र
खिपेको संस्कृतिको त दोस्रो वर्णमाला नहुनपर्ने नी
नबुझेको हुनु तर खेल हो भनेरै अबेर गरी यहाँ
अबुझ खेलाडीहरुकै लागि एउटा स्कूल खोलेको छ पहाडले
जहाँ तिम्रो थिइनु र भइरहनुका बोधहरुमा
केही सम्वेदना र सहृदयताहरु घोकाइन्छन्
इतिहास तुहाइरहने समयको यो ल्यान्डस्केपमा
अनेकौं खोल्सा र खोलाहरुको आस्था बोक्ने नदी छ भने
त्यसैले आफू हुनुको बोध पनि त्यसको बग्नुसितै छ
जो तर किनार होइन किनारको क्रुसो पनि होइन
त्यसको सुख र दुखमा सधैं सपना र गीतहरुको भाँडाबर्तन बजिरहन्छ
अनाम समयको खेल भनी पर्खिरहने समयकै हतभागीहरु भने
त्यसको असम्भव अन्त्यलाई पर्खीपर्खी थाकेका छन्
तर तिम्रो साहसले इतिहासको आवेगलाई समेट्दैछ हेर
न्यायका छात्रहरुलाई बार्षिक परीक्षाको प्रस्नपत्रहरु बाँट्दैछ
यसरी अधिकारी हुनुको औचित्यलाई सकार्दै तिमीले
आफूलाई गर्विलो परिच्छेदहरुमा रचना गर्दैछौ
जसले जुडास गुँथेर विस्वासघात गरयो तिमीलाई
तिनीहरुको भूगोल घुरेनबन्दा परतिर छैन
आत्मरतिको उत्सवमा छिल्लिनेहरुको इतिहास नै
आगत समयको प्रहारमुनि दबिएर जाने क्षीण स्वरहरु मात्र हुन्
चोक्टिएको समयभित्र अग्लिने शक्तिको भ्रमहरुले
देख्तैन यसको निरन्तरतालाई सङ्घर्षको आवेगलाई
तर तिम्रो रगतको मूल्य पहाड लड्दा निस्केको मुसा होइन
जसरी यो टापुमा तिमीले जङ्गली जनावरहरुसित लड्दै
जीवनको निम्ति असीम सम्भावनाहरुको काठले नाउ बनायौ
त्यसैले यो अन्यायी समुद्रका लहरहरुलाई चिर्दै चिर्दै
तिमीलाई आफ्नो अधिकारको देश फर्किन सगाउनेछ
फेरि मान्छेकै बस्तीभित्र समान मान्छे नहुनुको दिमागी खेलबाट
तिमीले पनि आफ्नोपनको नयाँ माटोमा पदार्पण गर्नेछौ।।
कवि राजा पुनियानीलाई समर्पित
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम