~भुवन निस्तेज~
लगायो बाँसका खुट्टा, भयो फेरि ठूलो मान्छे
रहेनन् पाउ धर्तीमा नटेक्ने भो धुलो मान्छे
जहाँ आगो मिल्यो टिप्दै उहीं बस्ती जलाएछ
कहाँ मिल्काई आयो दिल भयो भन्छन् झुलो मान्छे
बिताओस् जिन्दगी चाहे थुपार्दै चाँदीका डल्ला
न सुन खाने न ता चाँदी नपाए जाउलो मान्छे
म हुँ मेरै भए पुग्थ्यो यही दर्शन छ जीवनको
दिएछौं नाम सागरको यहाँ भैगो कुलो मान्छे
नबढ्ने भो अघि खुट्टा नतानेमा कसैका रे
गुमायो तेज खै के ले भयो के ले लुलो मान्छे ?
भुवन निस्तेज
त्रासद मौसमबाट
(स्रोत : अभिव्यञ्जना)