~यकिना अगाध~
उ ट्राफिक चेकिङमा पर्यो । उसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ति बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इंकित गर्दै भन्यो– त्यहाँ सरलाई भन ।
त्यो अफिसरले जरिवानाबापत हजार रुपैयाँको चिट काट्न सहयोगीलाई आदेश दियो । यो सुनेर उसले प्रतिवाद गर्न खोज्यो– हैन सर ! यो त अति नै भयो । ब्लुबुक बिर्सेको त एक सय रुपैया मात्र जरिवाना होइन र ?’
‘त्यसो भए यो बाइक यहीँ छाडी राख र ब्लुबुक ल्याएर लैजाउ ।’ ट्राफिक अफिसरले ठुङना लागेको सर्पले फणा उठाएझैं अनुहार बनाएर भन्यो– ‘खुब मलाई नियम सिकाउने ? नियम जान्नेले आफू पनि नियममा हिड्नु नि !’
ट्याक्सि समाएर घर जाउ फेरि आउ उसले हिसाब गर्यो उस्तै पर्ने भो । त्योमाथि समयको बर्बाद । यसपछि उसले लुरुक्क परेर अफिसरले तोकेको हजार रुपैयाँ जरिवाना तिर्यो । हिँड्ने बेलामा अफिसरतिर फर्केर उ मुस्कुरायो किनकि अनावश्यक झन्झटबाट उसले मुक्ति पाएको थियो ।
उ मुस्कुराएको देखेर ट्राफिक अफिसर पनि मुस्कुरायो किनकि अलिकति उसलाई पनि आमदानी भएको थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )