~दाजु गुरुङ~
मान्छेहरु
मान्छेले मान्छे वगाउने भेलहरुमा
मान्छृको मानव सागरमा
हराइ रहेका छन्।
जिन्दगीका दौडहरु
जीवनका वक्र-रेखकीय यात्राहरु
रुमलिरहेछ मान्छे हराउने सागरहरुमा
छाती भरि सञ्चित तृप्त-अतृप्त चहानाहरु
एक मुठ्ठी सुस्ताउने विश्रामको श्वास प्रश्वासहरु
कृतिम धुलाहरु र ईन्जनका काला धुवाहरुमा
तरलित भइरहेछ यो कंक्रिटको जंगलमा।
मान्छेहरु
मान्छे हराउने सपनाको शहरमा
व्यस्त छन अभ्यस्त छन्
घाम उदाउँछ अस्ताउँछ
कुनै हेक्का छैन।
जिन्दगीका भोगाइहरु
जिन्दगी समाउने मान्छेहरुका दैनिकीहरु
यान्त्रिक भइरहेछ मान्छे वगाउने भेलहरुमा
स्वचालित छन् पाईलाहरु तरलित छन् तृष्णाहरु
मन भरी सगरमाथा जत्रा उधारो सपनाका भारीहरु
हरपल आगो फूल्ने बालुवा र फलाम सँग लाप्पा खेल्दै
कोण जस्तै हान्निरहेछ यो मायावी शहरमा।
मान्छेहरु
मान्छेले मान्छे नचिन्ने यो घना वस्तीहरुमा
दिन र रात एक गरेर
मान्छे खोज्दैछन् खोजीरहेकाछन्
खोज्नुको कुनै अर्थ छैन।
यो अन्तहिन यात्राहरु
मान्छेहरु दौडीरहेका बाटाहरुमा
धेरै मान्छेहरु भेटीएका थिए जिन्दगीका मोडहरुमा
निसासिएका थिए छट्पटिएका थिए आफ्नै अजङ्ग सपनाहरुमा
भन्दै थिए घरवाट आ को असक्त बा को पत्र पढ्या छैन
घरपटी हस्पिटल भर्ना भएको धेरै भयो जान भ्याछैन
अरुको के कुरा जिन्दगीले फड्को मारेको थाहा छैन
ताँगामा नारिएको घोडा जस्तो
नेटको सन्जालमा उनिएर अल्झिरहे जस्तो
अलामको खवरदारी सँग दौडीरहेछ यो सपनाको शहरमा।
मान्छेहरु
मान्छे मोल तोल गर्ने शो केशको शहरमा
सजिएका छन् सजाइएका छन्
काँचका सामान जस्तो रबरका खेलौना जस्तो
तोड्न पनि हुने मोड्न पनि हुने
यो खुल्ला कमिशनको वजारमा।
मान्छेहरु
यो कृतिम मानव सागरमा
जीवन डुङ्गा चडेर सपना खोज्न हिडेका क्याराभानहरु
सपना खोज्ने धेरै धेरै कोलम्वस्का अनुहारहरु
कोलम्वस्हरु हराइरहेकाछन सपनाहरु खोज्दा खोज्दै
कोलम्वस्हरु लुटिइरहेकाछन नयाँ पिराटस्हरुवाट जिन्दगी रोज्दा रोज्दै
फुल्न अगावै तुषारो र ठिहीले निमटेको कोपिला जस्तै।
आशा र अकाँक्षमा वलात्कृत छन्। मानवीय भावनाहरु
चिसिएका छन् मान्छेका जिन्दगीका उत्कॄष्ट चहानाहरु
कतै सिमेन्ट र वालुवाका भुइहरुमा कतै सागरका छालहरुमा
यो मायावी सपनाको शहरमा।
– 2008
दाजु गुरुङ , हङकङ