~विक्रम सुब्बा~
राजा र कलाकार दुवै नाटक खेल्छन्
राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ
कलाकारले – कहिले असल ‘राजा’को
कहिले ‘हत्यारो’ जंगबहादुरको…
कहिले सत्र धार्नी ‘नाक-कान’ काट्ने महाराजाको, र
कहिले ‘सन्काहा’ राजा क्यालीगुलाको भूमिका खेल्छ ।
जब नाटकको कथामा ‘सन्काहा’ राजा हुन्छ
मंचमा निर्दोस मानिसको बेहाल-गाथा हुन्छ
असंख्य विधवा र टुहुराहरूको गीत रुन्छ
जमानाले मानिसका रगतले अनुहार धुन्छ
अति भएपछि जब ‘लन्जाइनस’को तरवार उठ्छ
तब ‘क्यालीगुला’को गर्धन छ्वाम्मै छिन्छ
गर्धनबाट छिनाईसकेपछि राजाकै टउको पनि
नयाँ युगले खेल्ने भकुण्डो बन्छ
अनि बिस्तारै नाटकको पर्दा खस्छ
त्यसपछि मलामीहरूको लस्करबाट
जर्नेल-समालोचकले नाटकलाई –
‘दुखान्त नाटक’ नभने के भनोस्?’
—–
शंखमूल काठमाण्डौ