~प्रवीण राई जुमेली~
पाठक लेखकको हितैषी थियो
लेखनको मेलोबाट जब
थाकेर घर पुग्थ्थ्यो लेखक
शब्दकै उपहार लगिदिन्थ्यो
उसले पाठकलाई
उ रमाइउठ्थ्यो शब्द समाएर
त्यसरी नै सायद लेखक
लेखक हुनुको स्वत्वमा बाँचिरहन्थ्यो
नयाँको खोजीमा मान्छेले
हजारौं परिवर्तनहरुको आविष्कार गऱ्यो
परिवर्तनको हुण्डरीले सभ्यताको नाममा
अनेकौं रङगहरु लिएर आयो
ती रङ्गहरुमा डुबेको मान्छे
फेरि हिजको जस्तै रहेन
उसले शब्द चबाउनुमा
नयाँ रङ्गहरुको उमङ्ग पाएन
पाठक चाहन्थ्यो सायद
यस्तै उमङ्गको आभास
सायद उसको बोधको लेखनी
तर आफ्नै नियतिको वृतान्त लेख्दा-लेख्दै
बुढो भइसकेको लेखकसित
आफ्नै कुण्ठाको आत्मकथा बाहेक
अरु सम्पति थिएन
त्यस लेखनीलाई सत्यापित गर्न
लेखकसित अनेकौं तर्क र
विस्वासको विधि तयार थियो
यसैले पाठकको हार भयो
तर उसले जान्दथ्यो कि
शब्दको पठनबिना पनि
एउटा जीवन बाँच्न सकिन्छ
यसरी लेखक र पाठकले
अलग-अलग बाटो चुनेर छुट्टिए
लेखकका शब्दहरु
पाठक नभेट्नुको पीरमा
जेनतेन बाँचिरहे
फेरि लेखकले त्यही पीरका कथाहरु लेख्यो
जहाँ पाठक थिएन
पाठकको उपस्थिति थिएन
अझै पनि कहिले काहीं पाठक
शब्दको स्मृतिले झस्किने गर्छ
मानिस भुल्याउने यी
अनेकौं रङ्गहरुको अनुपस्थितिमा
कस्तो होला उसको जीवन
सोंचेर तर्सिने गर्छ
अर्कोतिर लेखक आफ्नै
शब्दको थाक हेरेर मक्ख परिबस्छ
नपढिनुको अर्थमा जर्जर बनेको
उसको वर्तमान मुसारेर
नार्सिसस बाँचिरहन्छ।।
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)