~सविना सिन्धु~
लेख्यौ कि ….!
कुन कागजमा लेख्यौ मेरा गीतहरु
ती त भिजे पानीमा निथ्रुक्क
तप्प—तप्प जमिनमा झरेका थोपासंगै ।
कि…. कुन पातमा लेख्यौ प्रेमपत्र
जुन, घामको स्पर्शले सुक्यो, हुरीले उडायो ।
जहाँ अक्षरहरु स्पष्ट छैनन् ।
शब्दहरु थकित छन् ।
पातहरुको श्रृङ्गारमा भेटिन्न म
भो कागजमा अटाउँदिन म ।
चामलका दाना, ती भन्दा सेता लाग्छन् असिना ।
जो झर्छन् बारम्बार आकाशबाट र हिर्काउँछन् हामीलाई
त्यतिबेला, के आकाशको विरोध गर्नु
वा पानीको विरोध गर्नु ।
वा तिम्रो प्रेमपत्रको विरोध गर्नु ।
वा सुनाउन चाहेको गीतको विरोध गर्नु ।
कि….कुन भावले लेख्यौ प्रेमपत्र,
ती शब्द, प्रारम्भ देखि अन्तिमसम्म
चरण—चरण गर्दै अनुमान लगाउनु पर्ने भयो ।
मसिहरु लत्पत्तिए, विचारहरु अपभ्रंश भए ।
शब्दसंग अर्थ दिने सामथ्र्य छैन।
टुक्रा—टुक्रा भए भावहरु
ओर्लिएर जमिनमा, पानीमा परिवर्तन हुन थाले।
यसैगरी परिवर्तन हुन्छ समय ।
यसैगरी परिवर्तन हुन्छन् साल ।
पूरानो साल फेरिन्छ र नयाँ आउँछ ।
संघर्ष-संघर्षबाटै,
उर्जावान् बन्छ जिवनको यात्रा ।
उमेर र समय यसैगरी बित्छ
तर पनि बाँकी रहन्छ प्रेमिल मन ।
फेरी पनि लेख्नु प्रेमपत्र………