~केपी अनमोल~
“कि त जोत हलो, कि त छोड थलो”
भन्नु भाथ्यो नि, हो….त्यो,
अहँ,….अझै मानेका छैनन् ।
बरु हाम्रै छातीमा,
दनदनी हलो जोतिरहेछन् ,
यिनले ।।
यी त, सुन्दै नसुन्ने,
निर्जीब मूर्ती हुन ।
थाहा छ ?
जनताले, नुन मात्रै पनि
खान नपाउँदा,
कत्रो आन्दोलन मच्चाउनु भाथ्यो
र, हामीले नुन सित्तैमा पाथ्यौं ।
यहाँ त यी ब्वाँसाहरू,
लास समेत,
आफैँ खाइदिन्छन् ।
अनि,तपाईँले
महाकाली बगाएका,
ती शोषक सामन्तीहरू
फेरि प्रेत बनी,
गाउँ पसेका छन् ।
मेटिएका छैनन् ती,
उठ जाग रे, नेपाली नवजवान जाग रे।।
यी जोसिला नाराहरूमा ।
म जस्तै,ठिटाहरू
यसमै परेड खेल्दैछन् अझै ।
अस्ति मात्रै,
त्यो पल्लो, नयाँ बजारको
चिया पसलमा,
ती हर्के काकालाई,
झन्डै मरेनन्
चुलो छोइस्
तँ त, कामी पो,
भनेछन्, हेर्नुन् त कस्ता पाखण्डीहरू।।
तपाइले नै सबै
बराबरी हुन भन्दै,
सार्की, दमाईको
हातबाट पानी खुवाको होइन ?
अहिले नितै ठालुहरू
अछुत, दलित भन्छन्,
र, आफू उच्च जाति,चोखा अरे।।।
न्याय र समानताको बिगुल,
घन्के कै छ, जोर जोरले,
ती, नसुन्ने कान एक दिन पक्कै,
सुन्न बाध्य हुनेछन् ।
मैले आजै सुनेको,
देउडा खेल्दा,
बम्बई जान्याँ रेल गाडीमा, दिल्लीको माल आयो ,
गरिबका दिन आया, ठालुको काल आयो ।
अनि क्रान्ति कहाँ सक्या छ र भन्याँ ?
आज तपाइको,
जन्मदिनमा मात्रै हैन ।
यो देशले मेरो छोरो, भीम दत्त पनि
भन्न नसक्ने कस्ती आमा ? ?
अहँ, नसोच्नु त्यस्तो, यी पो चोर फटाहा ।
एउटा कुखुरा मर्दा,
सहिद घोषणा गर्छ यो देश,
जनताको हक अधिकार,
सामन्ती संस्कार
हटाउन लाग्दा,
शिर काटिएर झुण्ड्याइको,
भीम दत्त हराउँछ, शून्यतामा ।
किन, ???
आउनुहोस्, फेरि
नेपाली भूमिमा,
भीम दत्त चाहिएको छ ।
यहाँ त जनताका लागि भन्नेहरू,
क्रान्ति गर्नेहरु,
खाली मन्दिरका घण्टा पो रहेछन्,
जो अरूले हल्लाई दिएपछि मात्रै चिच्याउछन् ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)