~बसन्त चौधरी~
स्वप्नहरू –
बादल बनेर बर्सिँदै छन्
रातका अँध्याराहरू
सूर्योदय आभा बनेर टल्किँदै छन्
जीवन,
मिठो धुन गुनगुनाउँदै छ
केही नयाँपन,
भित्र भित्रै पलाउँदै छ
यस्तोमा
यो मन किन नरमाओस् ?
ताराले भरिभराउ आकाश छ,
हरेकतिर चन्दन छरेको सास छ
हिजो जस्तै खडेरी किन न होस्,
आज धानको बाला झुल्ने आस छ
दृश्यहरू विभोर छन्
सुगन्धहरू मन चोर्छन्,
यस्तोमा एक शान्त उपवन
आत्माले किन नपाओस् ?
बृक्षहरुमा फूल फुल्छन्,
निराशा अब बाटो छल्छन्,
भविष्यका क्षितिजहरू
आकाश-दीप झैँ धप्प बाल्छन्
यस्तोमा शीतल बगेको
खोला किन नकलकलाओस् ?
जून हाँस्ने रात हो यो
किरण भर्ने प्रातः: हो यो
जीवनको संघर्षहरुमा
मान्छेहरूको साथ हो यो
लहरहरूको हात हो यो
उषाको लाली पिएर
हरियोपनलाई,
हलुको लाग्ने मात हो यो
धर्तीलाई आकाशले
माया गरेर,
दिएको सौगात हो यो
यस्तोमा उडान भर्दै
मुटु किन न गुनगुनाओस् ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)