कथा : आमसभा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

“गनाउँदैन देशको माटो सधै मग्मगाऊँछ ।
आमाको काखमा सधै वात्सल्य जग्मगाऊँछ ।”

इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद । हजारौं हातहरु इन्कलाव र जीन्दावादको नाराकासाथ माथी माथी उठीरहेकाछन् ।

मञ्च तयार गरिएको छ । भब्य मञ्चमा कार्यक्रम आयोजना ,जनसभालाई संवोधन गर्ने नेताहरुको आकर्षक फोटो सहितको ब्यानर लगाईएको छ मञ्चमा ।

ब्यानर हेर्दा त्यसमा राखिएका नेताका फोटो अहिले नै धपक्क बोल्छन् कि जस्तो देखिन्छ ।

नेपथ्यमा मधुरो स्वरमा राष्ट्रभक्तीगीतको धुनबजीरहेकोछ ।नेताको आवाजलाई टाढाटाढासम्म पुर्‍याउन ठुला ठुला लाउडस्पिकर साउण्डबक्स को ब्यवस्था गरिएकोछ । स्थानीय कार्यकर्ता नेताहरुको स्वागतमा कमी नहोस् भनेर दत्तचित्तकासाथ खटेको देखिन्छ ।

बहुलवादको जमाना हो अर्थात बहुलवादभित्र लुकेको प्रतिष्पधात्मकवादको जमाना पनि हो । बिपक्षहरुले आयोजना गरेको कार्यक्रम भन्दा अझ भब्य बनाउन कार्यकर्ताहरु ले भरमग्दुर प्रयत्न गरेको उनीहरुको खटाईले सहजै अनुमान लगाउन सकिन्छ ।

नेताजीहरु आउने बाटोमा हरियो होईन नयाँ ब्राण्डेड रातो कार्पेट ओछ्याइएको छ । कार्पेटको दायाँ बायाँ जलयुक्त पूर्णकलश राखेर सजाईएको छ ।स्वागतको लागि पञ्चकन्या हातमा माला खादा फूलका गुच्छा लिएर तम्तयारीमा छन् ।

नेताजीहरु हेलीकोप्टरबाट ओर्लीनासाथ मंगलधुन बजाउनका लागि बाजाबजाउन जान्नेहरुको ब्यबस्था गरिएको छ । उनिहरु पनि तयारी अवस्था रहेको देखिन्छ ।

कार्यक्रम आयोजकहरुको चुरीफरी हेर्न लाएकको छ ।

अहिले अर्थात यो कार्यक्रममा नेताजीहरुलाई खुसि र सन्तुष्ट गराउनसके आफ्नो राजनीतिको मियो मजबुतसंग गढ्ने कुरामा निर्धक्क छन् स्थानीय नेता र कर्यकर्ताहरु ।

हो त नि सलामी चढाएर पाएको हालको राजनीति पदलाई स्थायी त गराउनै पर्‍यो । यो कसरी संभव छ भन्ने कुरा स्पष्ट थाहा छ तिनीहरुलाई । तसर्थ त्यहि मूलमन्त्रलाई आत्मशात गरेर काममा तल्लीन भएकोदेखिन्छ नव प्रबेशी लगायतका कार्यकर्ताहरु ।

एकान्तमा नेताजीहरुसंग भलाकुसारी गर्न सकियोस् भनेर नेताजीहरुलाई आरामकोलागि सुबिधासम्पन्न रिसोर्टमा छुट्टाछुट्टै बिश्रामको ब्यबस्था गरिएकोछ । नेताजीको सेवामा कुनै कमि नहोस् भनेर तालीम प्राप्त सुसारेको पनि यथोचितरुपमा ब्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागीहुन फाट्ट फुट्ट मानिसहरु आउने क्रम सुरु भएकोछ । यदा कदा नारा पनि घन्किन्छ इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद भन्दै ।

यता राजधानीबाट नेताजीहरु कार्यक्रमस्थलमा जानकोलागि एक अर्कामा सम्पर्क स्थापीत गर्दै कस्तो पोशााकमा कति बजे एअरपोर्टमा जम्मा हुने भन्ने संवाद चलीरहेको छ ।

फेरी कार्यकर्ताले आफ्नो स्वागत भब्यरुपले गर्ने हुन् कि होईनन्र्? भन्नेमा पनि उत्तिकै सन्देह छ । बिपक्षीदलकोे नेताको भन्दा कम स्वागत सत्कार भयो भने आफ्नो मानमर्दन हुने हो कि भन्ने चिन्ताले सताई रहेको हुँदा बारम्वार पिए मार्फत जानकारी लिने क्रम पनि जारी नै राखेकाछन् ।

हवाई अड्डामा नेताजीको औकात र हैसियत अनुसारका सुबिधासम्पन्न हेलीकप्टर लामवद्धरुपमा तयारी अवस्थामा राखेको देखिन्छ ।

त्यहाँ सुराक्षकर्मिको ब्यस्तता पनि हेर्न लाएकको छ ।

आकाश ठप्प छ । अवतरणकालागि आउने जहाजहरुलाई प्रबेश निषेधको फर्मान जारी गरिएको छ । एअरपोर्टबाट उड्ने जहाज र यात्रुको त कुरै भएन उडान बन्द भने पछि बन्द । किन के का लागि बन्द भन्ने प्रश्न गर्ने अधिकार कसैलाई छैन ।

नेताजीका सवारी हुनेहुँदा बाटो खाली गरिएको छ । बिचरा यात्रुहरु कोही बिच बाटोमै अड्कीएकाछन् कोही सवारी साधनको पखार्ईमा छन् । एअरपोर्ट पुगेकाहरु उडान तालिकामा फेरबदल भएकोमा दिक्क मानेर बसेकाछन् ।

सुरक्षामा कडाई किन नहोस् चान चुने नेताको सवारी हो र देशको सर्बोच्च पदमा आशिन सर्बाेच्च नेताको सवारी ।

नेताजीहरुलाई पनि आफ्नै प्रतिष्ठाको चिन्ता । कार्यकर्ता निमन्त्रणा गर्न आउँदा नै वचनवद्ध गराएका थिए । आफ्नो सेवा सुश्रुवा मानमर्यादामा कुनैे कमि नहोस् भनेर ।

कमी हुनेभए आफु कार्यक्रममा नआउने र अरु कसैलाई लगेर कार्यक्रम सम्पन्न गर्ने निर्देशनात्मक आदेश ।

कार्यकर्ताको भावना र स्थानीयस्तरको राजनीतिस्थीतीको वारेमा नेताजीहरुलाई के वास्ता ।

कार्यकर्ताको वाध्यता , बिपक्षी दलले शिर्ष नेताहरुलाई ल्याएर भब्यरुपमा कार्यक्रम सम्पन्न गरिरहँदा आफुहरु रानु हराएको माहुरी जस्तो भएर बसीरहनुभन्दा बरु अलीकति दुःख गर्दा, अलिकति आफ्नो घरखर्च कटाएर भए पनि शिर्षनेताहरुलाई उपस्थिति गराएर कार्यक्रम सम्पन्न गर्न पाए यसो समाजमा प्रतिष्ठा आर्जन गर्न सकिने ।

कदाचित् नेताजीहरु दाहिने भएमा लाभका पदहरु पनि प्राप्त गर्न सकिने चुनावमा टिकटको दाबि गर्न नेताको ठोका छिर्न पनि सहज हुने भएकाले वाध्यताबस यस्ता कार्यक्रमहरु आयोजना गर्नु पर्ने अवस्था ।

हिजो जस्तो राजनीति ब्यबस्था र नेता प्रतिवन्धित अवस्था छैन आज । एउटा कोठामा बसेर सभा भने पनि महाधिबेशन भने पनि मिटींग भने पनि सिमित ब्यक्ति सिमित ठाँउ सिमित समय राज्यको त्रास र भयको वाताबरणमा ज्यानै हत्केलामा राखेर कार्यक्रम सम्पन्न गर्नु पर्ने अवस्था ।

कार्यक्रमबाट पारित भएका कार्यदिशा नै पार्टीको मार्ग निर्देशक हुन्थ्यो । त्यसबाट तल माथी गर्ने कार्वाहीको भागीदार हुनुपर्दथ्यो ।

अनवरत कठिन संघर्षको प्रतिफल आज देश लोकतन्त्रमय भएको छ । अर्थात देश लोकतन्त्रमा प्रबेश गरेको छ ।

नेता र देश लोकतन्त्रमय भएको परिबेशमा जनतालाई परिवर्तित राजनीतिक ब्यवस्थाले संबोधन गरोस् या नगरोस् नेतालाई खुलारुपमा अरुले देख्नेगरी सम्मान गर्नै पर्छ।

आफ्नो प्रतिष्ठाकोलागि ,नेताको प्रतिष्ठाकोलागि देशको प्रतिष्ठाकोलागि र लोकतन्त्रको प्रतिष्ठाकोलागि ,स्थानीय नेता र कार्यकर्ता जुटेको सहजै अनुमान गर्न सकिन्छ ।

पार्टीका कार्यकर्ता स्थानीय नेता र जनतालाई आश्वस्त पार्नेगरी कस्तो मिठो भाषण गर्दछन् नेताहरु । कसैले सिंगापुर जस्तै बनाउँछु भन्छन् । कसैकसैले अमेरीका, कसैले बेलायल कसैले जापान जस्तै त कसैले स्वैजरल्याण्ड जस्तो बनाउँmछु भन्दै हिड्दछन् ।
तर जनताले नेताको भाषणमा सुन्न चाहेको बिषय नेपाललाई नेपाल जस्तै अझ सुन्दर बनाउँछु भन्ने हो । नेपाली जनताले नेताको मुखबाट यि शब्द आज पर्यन्त सुन्न पाएका छैनन् ।

आमसभामा मानिसहरु भेला हुनेक्रम जारी छ ।

मोटरको ध्यार्रर घुर्रर आवाज आईरहेको छ । आमसभामा सहभागिहुन आउने मानिसहरुको घुईचो सभास्थल तर्फ आईरहेकाछन् ।

स्वयम् सेवकहरुले ब्यवस्थापन गरिरहेका छन् । स्वयम्सेवकहरु पनि यसरी ब्यबस्था गरिइएको छ कि प्रत्येक दश दशहातको दुरीमा दुबै तर्फको लाईन हेर्ने गरी स्वयम्सेवक खटाईएको छ ।

अनि निर्देशन दिईएको छ नेताहरुको भाषण जनतालाई आकर्षण गर्ने खालको नभए पनि भाषणकोक्रममा बेला बेलामा ताली बजाउनु र उपस्थित जनसमुदायलाई पनि तालीबजाउन प्रेरित गर्नु भनेर ।

कति राम्रो ब्यवस्थापन । नेताजीको सम्मानकालागि ।

उपस्थित जनसमुदायहरु गाँईगुँई गरिरहेकाछन् नेताहरु कति बेला आउलान् नेताहरु कार्यक्रम कतिबेला सुरुहोला ? के मा आउलान् नेताहरुभन्दै कोहि सडक तिर हेरिरहेका छन् भने कोही आकासतिर ।

गाडीको आवाज सुनिन्छ । आठ दशवटा गाडीकोलाईन सभास्थल नजीकै आएर रोकीन्छ । आयोजकहरु दौडेर हातमा हातमोल्दै गाडी अगाडी उभिन्छन् । गाडीबाट मानिसहरु ओर्लीदैछन् ।

गाडीबाट ओर्लेका मध्येबाट एकजनाले सोध्छ , यो आमसभाको संयोजक को हो? ।

एक जना खाईलाग्दो मानिस अगाडीसर्दै हातजोड्दै भन्छ हजुर, म हँु हजुर , हजुर नमस्कार ।

अभिवादन फर्काउँदै, अनि के के छ ब्यवस्था , लौ मलाई रिपोर्ट गर्नुस् त्यहि अनुसार केन्द्रमा रिपोर्ट गरेपछि मात्र नेताजीहरु प्रस्थान गर्नु हुन्छ ।

उता राजधानीस्थित एअरपोर्टमा सबै नेताजीहरु जम्मा भएकाछन् । आमसभामा गरिएको ब्यवस्था बारे आ आफ्ना बिश्वासपात्रलाई निर्देशन दिएर प्रस्थानको लागि रिपोर्टको पर्खाइमा छन् ।

आकास बन्द छ । अन्य उडानहरु बन्द छन् । यात्रुहरु बिलखवन्द परेर बसेकाछन् ।

ल भन्नुस मञ्च कस्तो बनाउनु भएको छ । खादा मालाको ब्यबस्था के छ ।

पुरै कण्ठ छोपीएर अनुहार पनि छोपिने गरि स्वागत गर्नु पर्छ है नेताजीहरुको ।

तपाईहरुलाई त थाहा छदै छ नि बिपक्ष दलले यहाँ कार्यक्रम गर्दा आफ्ना नेताको कत्रो भब्य स्वागत गरेका । सबै राष्ट्रिय पत्रिकामा फोटो सहितको समाचार बनेको । त्यो भन्दा भब्यहुनुपर्छ हाम्रो कार्यक्रम । लौ हिड्नुस् पहिला मञ्चको निरिक्षण गरौं ।

हस् हजुर सवारी होस् । हजुर नजरहोस् आफ्नो बरकतले भ्यायसम्म ब्यबस्था गरेकाछौ । राजधानीमा जस्तो साधन श्रोत उपलब्ध छैन । तै पनि हामीहरुले कोशीष गरेका छौ मञ्चलाई भब्य र आकर्षक बनाउँन ।

यो मञ्च हो हजुर , नेताजीहरुलाई आराम र खानाकोलागि यस ठाउँमा रहेको सबभन्दा राम्रो रिसोर्टमा ब्यवस्था गरेका छौ । अनि हजुर आरामको लागि यथोचित स्थानको पनि ब्यबस्थासोही रिसोर्टमा गरेका छौ । नेताजीहरु बस्ने सोफा कुर्सि को स्तरीयतालाई गहनरुपमा ध्यान दिएर ब्यबस्था गरेका छौ ।

खादा फूल माला मिनि ट्रकको एक ट्रक ब्यवस्था गरेका छौ । पुग्ला नी हजुर । अनि स्वागतको लागि पञ्चकन्या लगायत वाजाबजाउनकोे ब्यबस्था पनि गरेका छौ ।

यसको अलावा उपस्थित जनसमुदायलाई नेताको स्वागतको लागि फूलमाला खादासहित आउनु भनेर उर्दी नै जारी गरेका छौ ।

नेताजीहरुको स्वागतकालागि हेलीप्याडदेखि यहाँ मञ्चसम्म करिब सातसय मिटरको दुरी रहेको छ । स्थानीय नेता कार्यकर्ता फूलको गुच्छा माला र खादा सहित हेलीप्याडदेखि मञ्चसम्म दुइलाईनमा तयार भएर बसेकाछन् ।

उ त्यता नजस होस् त हजुर ।

मञ्च ब्यानर र नेताजीका आसन निरिक्षण गर्दै केन्द्रको स्वीकृत लिएर राखेको हो नेताजीहरुको फोटो । कहिं कहिं त आफुखुसी फोटो राखिदिन्छन् अनि गाली हामीले खानु पर्छ ।

हो हजुर कार्यालयका मुख्य सचिबको निर्देशानुसार नै वाहाँले उपलब्ध गराएका फोटो राखेकाछौं हजुर । यसमा सन्देह मान्नै पर्दैन ब्यबस्थापन वाहाँकै निर्देशन बमोजिम गरिएकोछ हजुर ।

तयारीमा रत्तीभर तलमाथी भएको छैन हजुर ।

हाम्रा नेताजीको प्रतिष्ठाको हामीलाई राम्रै हेक्काछ हजुर ।

मन मनले ब्यबस्थापन त निकै राम्रो गरेका रहेछन् । उपस्थित जन समुदाय तर्फ नजर लगाउँदै मानिसहरु पनि कति जम्मा गर्न सकेका । नेताहरुलाई राम्रै प्रभाब पार्ने भए ।

भाषण पनि रामै्रसंग छाट्ने भए नेताहरुले ।

मनले जस्तो खोजेको त्यस्तै ब्यबस्थापन गरेछन् भन्दै तर मुखले ल ल ठिक छ भन्दै थिए ,

यत्तिकैमा अर्काे गाडी हुईकीएर आएर सामुन्ने रोकिदै गाडी भित्रैबाट सोध्छन् । ब्यवस्थापन कस्तो छ ? हेर्‍यौ । नेताजीहरु कुरेर बस्नु भएको छ । यताबाट खबर गरेपछिमात्र हिड्नु हुन्छ । के छ लौ भन हतार भै सक्यो ।

अघि आएका मध्ये मञ्च निरिक्षण गर्ने ले दुबै हात माड्दै हजुर हजुर निरिक्षण गरें सबै ठिकै छ , अलि अलि कमि कमजोरी त भै हाल्छ नि यत्रो कार्यक्रम ब्यबस्थापन गर्दा भन्दै केहि कमि महसुस भएमा अपजस नआवस भनेर ठाऊँ राखेर बोल्छ ।
हजुर खबर गरी बक्सीयोस् हजुर नेताजीहरुलाई ।

खबर गरौं

हजुर ,खबर गरी बक्सियोस् हजुर केन्द्रमा ।

हेलो, हेलो, हेलो…… पिए साहब बोल्नुभएको ।

हो म बोल्दैछु । य तपाई पुगीसक्नु भयो।

अ हजुर म कार्यक्रमस्थलमा पुगेर निरिक्षणको गरेर नेताजीहरुलाई खबर गरौं भनेर फोन गरेको ।

के छ कस्तो छ ब्यबस्थापन, अनि जनसहभागिता कस्तो छ भन्नुस् न ।

ठिकै छ हजुर एकपटक अध्यक्षजीलाई पाउँ न हजुर ।

हैन हैन पर्दैन वाहाँ गफमा ब्यस्त हुनुहुन्छ । मैले सन्देश पुर्‍याईहाल्छु नि अध्यक्षजी समक्ष ।

अनि खान पिन आरामको के ब्यस्था छ ? ।

छ हजुर छ सबै ब्यबस्था छ तै पनि एकपटक नेताजीसंग कुरा गर्न पाए हुन्थ्यो । म आफैले आँखाले देखेको खबर नेताजीहरुलाई भन्न पाए म पनि ढुक्क हुन्थे ।

(मन मनै कम्ता चेपारे छ यो यत्ति मौका पाउने बित्तिकै दशथोक कुरा गर्न भ्याईसक्छ यस्तालाई यो सुनौलो अबसर किन दिनु?)

पर्दैेन पर्दैन मैले भनेपछि भै हाल्यो नि । ल मैले खबर गर्छु यहाँ सबै ठिकै छ । नेताजीहरु अब हिडीहाल्नुहुन्छ । तपाई त्यहाँ आफ्नो जीम्मेवारी निर्बाह गरेर बस्नुस् । नेताजीहरुलाई कुनै कमि हुन नपावस् । ख्याल गर्नु होला ।

य हजुर अध्यक्षज्यूलाई एकपटक पाउँ न ,अपार जनसहभागीताछ यो आमसभाले पार्टीको , कार्यकर्ताको रक्तसंञ्चार नै गर्ने छ । तसर्थ यो बाँकि समयमा संबोधनको बिषयबस्तु राम्रोसंग तय गरेर बोल्दा धैरै नै जनउत्साह हुनेछ । यति बिन्ति गरौं भनेर हो अध्यक्षज्यूलाई ।

पर्दैन,पर्दैन हिजो अस्तिदेखि तयारी छ अध्यक्षज्यूको संबोधन भाषण ।

(मन खिन्न बनाउँदै मन मनै भन्छ यस्तै मानिसले त हो नेता र कार्यकर्ता बिच सम्पर्क र सम्वन्ध स्थापित हुन नदिने सकेसम्म भाँजो हालेर आफ्नो दुनो सोझ्याउँछन् ) मुख ले हस् हजुर हस् भन्दै फोन राख्छ ।

उता निहुरीदै हजुर सभास्थलबाट आएको सन्देश बिन्ति गरौं भनेर हजुर ।

के छ खबर

सबै तयारी पुरा भयो रे हजुर ।

य खबर आयो , लौ अब जाने हो कि ?ब्यबस्थापन कस्तो छ रे ।

हजुर राम्रो छ रे भन्ने रिपोर्ट आएको छ ।

ब्यबस्थापनको बारेमा संक्षीप्त जानकारी आयो ? सबै ठिक छ रे । तै पनि किन हो किन मेरो मन त्यसै अत्तालीन्छ आमसभामा हुने ब्यबस्थापनको कमजोरी देखेर । कहिं कहि त कस्तो झुर ब्यबस्थापन हुन्छ भने कार्यक्रमको बिचैमा उठेर हिडीदिऊँ जस्तो लाग्छ । तर त्यसो गर्न पनि नहुने चुनावको बेला तिनैसंग भोट माँग्नुपर्ने ।

अनि उद्घोषक को रहेछ । मैले त नामै लिएर भनीदिएको थिएँ अलीकति खर्च बढ्ने हो उद्घोषक राम्रो चाहिन्छ उनैलाई लैजाऊ भनेर ।

हजुर ,हजुरले भनेको मानिसलाई नै ब्यबस्था गरेकाछन् । कार्यक्रम मिलाउनु छ भन्दै उनि त बिहानैको उडानबाट कार्यक्रमस्थल पुगीसकीन् ।

मलाई त कसो हो कसो ति नानीले उद्घोषकको जिम्मेवारी सम्हाल्दैखेरी आधा कार्यक्रम त उनको बोली र हाउभाव ले नै सफल भए जस्तो लाग्छ । जे होस् भनेको मानेछन् ।

उता आकासमा हेलीकप्टरको आवाज सुनिन्छ ।

यता उपस्थित जनसमुदायमा समुन्द्रमा भेल आएझै हलचल सुरु हुन्छ ।

आकासमा हेलीकोप्टर देखेर जोड ले नारालगाउँन सुरु गर्छन् ।

इन्क्लाब जीन्दावाद विरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद ……………………..।

हेलीप्याडमा हेलीकोप्टर अवतरण गर्ने क्रम सुरु हुन्छ । क्रमशः एक दुई तिन चार पाँच गर्दै पाँचवटा हेलीेकप्टर अबतरण गर्छन् । नेताजीहरु क्रमशः बाहीर ओर्लन सुरुहुन्छ ।

यता अघि गाडीमा आएका मानिसले आयोजकलाई किस्तिमा फूलमाला खादा राख्न लगाएर ल बोकेर हिड् भन्दै आयोजक र स्थानीय नेताहरुलाई बोकाएर आफुहरु अगाडी अगाडी लाग्छन् ।नेताहरुलाई तिनीहरुले घेरेर फूलमाला खादाले स्वागत गर्दछन् । सातसय मिटरको हिडाई कति चाँडै सिद्धिएछ मञ्चमा निस्कने सिढीमा पो आईपुगीएछ ।

नेताजीहरुको स्वागतकालागि तयार भै बसेकाहरु किस्ति बोकाईमा पर्छन् । नेताजीका अगाडी पछाडी बस्नेहरुले नेताहरुको गला भरिएर अनुहारै छोपिनेगरि माला र खादा लगाई दिन्छन् । जनतन ति पञ्चकन्या ले कसो कसो गरेर नेताजीहरुको हातमा पुष्प गुच्छा र माला राखिदिन भ्याएछन् । स्वागतकालागि बसेका आयोजकहरु खिन्न हुन्छन् । नारा घन्कीरहेको छ ।

इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद ……………………..।

नेताजीहरुको स्वागतकालागि बाजाबजेका छन् । नरसिंहा, कर्नाल ,सहनै र दमाहाको आवाजमा मानिसहरुको आवाज मिसिदा वाताबरण कोलाहलमय छ ।

त्यहाँको ब्यबस्थापन र जनसहभागिता देखेर नेताजीहरु दं¨छन् ।

उद्घोषकले कार्यक्रम सुरु गर्छीन् ।

आमसभाका आयोजक र स्थानीयतहको पार्टी प्रमुख एउटै ब्यक्ति रहेछन् । उनि सभापतिको आसन ग्रहणको लागि उद्घोषकको पर्खाइमा रहेकाछन् । तर उद्घोषकले सभापतित्व गर्नको लागि पार्टीको केन्द्रीय कमिटीका उपाध्यक्षको नाम लीन्छिन् ।
यस्तो सुनेर आयोजकहरु आश्चर्य मान्दै मुखामुख गर्छन् ।

आसन ग्रहणको क्रम सुरु हुन्छ । प्रमुख अतिथीको आसन ग्रहणकालागि पार्टीको केन्द्रीय कमिटीका अध्यक्षलाई आग्रह गरिन्छ ।

केन्द्रबाट आएका सबैलाई अतिथीको आसन ग्रहण गराईन्छ ।

मोटरमा आएकाहरुले मञ्चमा नेताजीहरुलाई माखे सा¨लो जस्तो गरि घेरेर बसेका छन् । नेताजीहरुसंग नजीक आउन बोल्न कसैलाई अनुमति दिदैनन् ।कोही आईहाले घोक्रेठ्याक लगाएर निकालकोे दृश्य सहजै देख्न सकिन्छ ।

तिनीहरुको अनुहार देखेर आयोजक स्थानीय नेताले जीब्रो टोक्दै मुखामुख गर्छन् । कोही भूमाफिया कोही ठेकेदार कोही दलाल को को हुन् को को नाम लिन पनि असजीलो मान्न पर्ने जमात छि यस्तो पनि देख्न पर्दाेरहेछ पार्टीमा ।

मन मनै भन्छन् अब राजनीतिक पार्टी त्याग र बलिदान गरेका कार्यकर्ताबाट बिमुख हुन थाले छ भन्ने अन्तकरणमा अनुभूति गर्छन् तर कोहि बोल्दैनन् ।

कार्यक्रमको अध्यक्षताको आकांक्षा राखेका ब्यक्तिले अध्यक्षको आसन नदिए पनि स्वागत भाषणको अबसर त पाउँला भन्ने आषामा छन् ।

आसन ग्रहणको कार्यक्रम सिद्धिन्छ ।

राष्ट्रियगान बज्छ ।

अब स्वागत मन्तब्यकोे पालो आउँछ । उद्घोषकले नाम बोलाउन थाल्छीन् । कार्यक्रम संयोजकको कान ठाडो हुन्छ । तर उद्घोषकले स्वागत मन्तब्यका लागि नाम बोलाउछीन् केन्द्रीय कमिटीका सचिब फलाना भन्दै ……..।

आयोजक हरु सबै जिल्ल ।

स्वागत मन्तब्यपछि भाषण सुरु हुन्छ प्रत्येक नेताको मुखबाट मानौं यो कार्यक्रम आफुले नै आयोजना गरेको हो जस्तोगरि भाषण गर्छन् ।

आयोजकहरुको मन कुढीन्छ ।

तै पनि पार्टीप्रति समर्पण र निष्ठा भएको हुँदा केही प्रतिक्रिया दिदैनन् । बोल्दैनन्।

उद्घोषकले बेला बेलामा अध्यक्ष लगायत नेताहरुको प्रशंंशा गर्न छुटाऊदीनन् । नेताहरुको त्याग बलीदान र बिरगाथाको बर्णन गर्छीन् ।

किन हो किन आयोजकहरुमा कार्यक्रम सुरुहुनुभन्दा अगाडी जुन उत्साह थियो , त्यो उत्साह अहिले कायम रहेको देखिदैन ।

अब अध्यक्षले संबोधन गर्ने पालो आउँछ ।

पार्टीको आगामी कार्यक्रम कार्यदिशाको बारेमा अध्यक्षबाट गहन प्रस्तुतिको अपेक्षाकासाथ आयोजक र सहभागीहरु रहेका हुन्छन् ।

तर अध्यक्षले कार्यक्रम राम्रोसंग सञ्चालन गरेकोमा उद्घोषकलाई धन्यवाद दिदै उनको प्रशंशामा शब्दहरु खर्चिन्छन् । यो ठाउँमा आउँन नपाएको धेरै समय भएकोकारणले यो बृहत् आमसभाको आयोजना गरेर आफुहरु यहाँ आएको मन्तब्य राख्दै आफ्नो मन्तब्य यहि टु¨ीएको घोषण गर्दै बिदा हुन्छन् ।

आयोजक र उपस्थीतहरुको मन खिन्न हुन्छ ।

धन्यवाद र कार्यक्रम समापन मन्तब्य सभापतिको आसन ग्रहण गरेका उपाध्यक्षबाट सुरु हुन्छ । यो कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद । अब यो कार्यक्रम यहि समाप्त भएको घोषण गर्दछु भन्दै कार्यक्रम समापन गर्छन् ।

उद््घोषक र नेताजीहरु मञ्चबाट बाहीर निस्कने क्रम सुरु हुन्छ ।

नेताजीहरुलाई स्कर्टिङ गरिरहेकाहरुले रिसोर्टमा पुर्‍याउँछन् । त्यहाँ पनि आयोजक र कार्यकर्ताहरुलाई प्रबेश निषेध गरिन्छ ।

यता मञ्च र सजावट निकालिन्छ । सहभागीहरु आ आफ्नो गन्तब्य तर्फ लाग्दछन् । आयोजकहरु टाउकोमा हात राखेर बस्दछन् यस्तो के भयो । उपलब्धि होला भनेको सून्य ।अब यो खर्च कसरी फस्र्याेट गर्ने हो ।

राति अबेरसम्म हेलीकप्टर हेलीप्याडमै देखिन्छ । नेताजीहरुको फिर्तिसवारी कतिबेला हुने हो आयोजकलाई थाहा हुदैन अर्थात जानकारी दिईएन । बिहान उठ्दा हेली प्याडमा हेलीकोप्टर थिएनन् । एक कान दुईकान मैेदान हँुदै हल्ला फैलीन्छ नेताजीहरुको बिहानै राजधानी सबारी भयो रे ।

एउटाले खुसुक्क भन्छ नेताहरुको मुखारविन्दबाट नयाँ नयाँ कार्यक्रम र भाबि योजना सुन्न पाईएला भनेको यत्रो तामझम गरेर खान मात्र पो आएका रहेछन् । कसरी बोकेर हेलीकप्टर मा चढाएका नेताहरुलाई लाज नभएका नकच्चराहरु ।

दिउसो रिसोर्टवाला बिल लिएर आईपुग्छन् । बिलको रकम देखेर संयोजकको शरिर थर्रर काम्छ । बेहोस भएर त्यही ढलौंला ढलौला जस्तो हुन्छ भनन्न रिंगटा लाग्छ ।

यता प्रकाशीत अखवारमा नेताजीका फोटो सहित ठुलो ढुलो अक्षरमा लेखिएको छ फलानो…..। राजनीतिक दलको बृहत् आमसभा सम्पन्न । नेताजी ले बोल्दै नबोले पनि यसो भन्नु भयो उसो भन्नु भयो भन्दै पार्टीको नीति र कार्यक्रमको वारेमा ब्याख्या गर्दै पार्टीको लाईन अनुसार चल्न कार्यकर्तालाई निर्देशन दिनु भयो भन्ने समाचार छापीन्छ । धन्य संवाददाता नेताजीहरुको चाकडी राम्रैगरि गरेछन् ।

कार्यक्रममा उपस्थित भएकाहरुले जिब्रो टोक्नछन् यस्तो सम्मपनि गर्नसक्ने नकच्चराहरु भन्दै ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.