तिमी आफ्नै बाटो हिँड
तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन
खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन
जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ
सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन
देशमा बेरोजगार छ
देशमा बेरोजगार छ युवा विदेश धाएकै छन्
दलाल चमत्कार छन् नजर उन्ले लाएकै छन्
जति अलपत्र परेर मृत्युवरण गरे पनि
दलालले निर्धक्क विदेश पठाउन पाएकै छन्
दाह्री खौरी
दाह्री खौरी कपाललाई खैरो खैरो पारे
सजिसजाउ जुत्ता मोजा डेरा पनि सारे
बनिबनाउ के को लागि भनी प्रश्न राख्दा
मुख भरिको मुस्कानमा सबै कुरा टारे
छुवाछुत
छुवाछुत मुक्त भन्ने खबर सुनेर के हुन्छ
दिनरात जालसाँझी भाषण बुनेर के हुन्छ
व्यवहारमुखी हुनुपर्छ गरिएका कामहरू
निर्धालाई कानुन देखाउन थुनेर के हुन्छ
जीवन धार कता
जीवन धार कता कता प्रश्न एउटा सानु हजुर
देशलाई लान्छौ कता सबको दुख्यो गानु हजुर
जुन जोगी आउँदा पनि कान चिरेका हुँदा रहिछन्
गरिबको खर–घर छैन, आफ्नो पक्की छानु हजुर
राम्रो नराम्रो
राम्रो नराम्रो छुट्ट्याउने काम गरौँ
सुन्दा पनि सत्य प्रेमी नाम गरौँ
कुकर्ममा लाग्नेहरूको कमी छैन यहाँ
उदाहरणीय सुकर्मको सुदाम गरौँ
कर्मी मौरी कर्मयोगमा
कर्मीमौरी कर्मयोगमा मध्यमन्दिरमा उनी थिइन्
सायद रानी भएर होला एक प्याला मधु पिइन्
अब के चाहियो र, भालेहरूले भाग्य अजमाए
कसैको प्राणै उड्यो, उन्ले भने आनन्द लिइन्
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )