कविता : बुढ्याँइहरु

~प्रवीण राई जुमेली~

दिनहरु व्यर्थै बितिसकेपछि यता
हिंड्नलागेको छु साँझहरु। अवकाशको एउटा यात्रा
केही साथीहरु भेट्छु टेकेर उभेका गोंधुलीपखहरु रिट्रिटका धूनहरु
सिह्रानी हुन्छ विश्रान्तिलाई अब केहीक्षण अनुहार नभएर कल्पनाहरु मेरा
मखुन्डाहरु फ्याँकेर सम्झनाहरु मेरा
मन सबै पुरिदिन केही भावुकता
रक्सीका बोतलहरु भएर आउँछन्। सीमान्तर और्ल्हिँदै आउँछन्
कताकति मेरै बन्धनहरु तोडेर भाग्दै हुन्छु म ओर्हालै ओर्हालो
मैले छाड्दै लगेको काँचुली उठेर पछिल्तिर
हाँस्दै हुन्छ मेरो नाङ्गोपन केही अट्टहास केही धमिलोपन
पहाडका हरेक अग्लाइ छोएर
भुईं नहुनपर्ने केही भुईंहरुलाई तानी समान्तर उभ्याउँछु भन्ने कसम झूट भइसकेका छन्
म आगो हूँ भन्दा मभित्रै भैंचालोको प्रतिरुप खोज्ने बैंसहरु
समुद्रबीच अरल्लिरहने डुँगाहरु भएका छन् पतवारहरु खोसिएपछि यता
भमराहरु दास बनेका हुन् एकपल्ट
एकपल्ट फूलको तरुणाइ चाटेर बसेका हुन्
खरानीको धुलो मात्र थिएछ ती पनि
क्षितिज देखाएर क्षितिज भइदिने संकल्प सबै
चट्टानको बरदान पाएर लडिरहेछन् आज व्यर्थै फूलका भमराहरु बिचरा
केही आशिर्वाद नै भइदिएन नाता नातीनीहरुलाई
भइदिएनन् दिने केही दक्षिणाहरु नै
व्यर्थ भो प्रतिमा नउभिनु यहाँ हिमाल नहुनु नै व्यर्थ भो
बिहान हुन अगि सन्त पत्रुसका हजारौं अस्वीकृतिहरु सहन पनि
यातना भइदिएको छ आत्मालाई
त्यस्तै अस्वीकृतिहरु मात्र आधार भए यात्राका
येसूको क्रुसिफिक्जन झैं भएर मुक्ति आएन मेरो लागि
रगत बगेर पनि पाप मोचन भएन
गाडीको पहियामुनि परेर सडकमा
भ्यागुताको एउटा लास हुनु झैं भयो यो मर्नु पनि
फेरि केही दिन गन्हाएपछि अलकत्र झैं हुनु मात्र भयो
यो मर्नुको पछिल्तिर पनि
व्यक्तिदेखि उब्रिएर अलिकति पनि अरुको मुटु भइनँ म
यो हिंड्नु पनि एउटो ठाँडो मात्र भयो
आफ्नै छायाँ हेरेर पानीमा नार्सिसस रमाइरहनु झैं मात्र भयो।।

-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम

(कविको कविता संग्रह “घाउका आवर्त्तहरु”बाट कविता यहाँ राखिएको छ। यो कविता संग्रह सन् १९९८ -मा पहिलो शोभाकन्ति थेगिम स्मृति पुरस्कारद्वारा पुरस्कृत भइसकेको छ।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.