~हरिप्रसाद भण्डारी~
जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए ।
नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ डरार्ई । बच्चाको मायाले जोडजोडले भुकी ।
नजिकै प्रहरी थिए । कुकुर्नीको भुकाइ उनीहरूलाई मन परेन । उनीहरू रिसाए र ऊमाथि पनि लाठी वर्षाए । एक्लै भए भाग्थी होली, बच्चाको मायाले भागिन । कुट्नेले आफू नथाक्दासम्म कुटे । कुकुर्नी कारुणिक स्वरमा कुइँकँदै जमिनमा लम्पसार परी ।
त्यो दिन त्यस्तै भयो ।
अर्को दिन बिहान मर्निङवाकमा जाँदा देखेँ— कुकुर्नी मरेकी थिई र साना साना छाउरा छाउरीहरू कुइँ कुइँ कुइँकिँदै मृत आमाका दूधका लाम्टा चुसिरहेका थिए ।
–२०६३/०१/०१, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)