~ममता पन्त मिश्र~
आमाका आँखामा टलपलिएर
अडी झर्न नसकेका आँसुका दानाहरूले
बाबाका मुटुमा अल्झिएर
रोकिएका अनकही शब्दहरूले
जब मौनतामा मलाई बिदाई गर्छ,
छाती मेरो चर्केर दुख्छ
ती अधरका विवश मुस्कानहरू
ती नबोल्दै बुझिएका शब्दहरू
जब तीर बनी छातीमा प्रहार हुन्छ
चिरा चिरा मुटु हुन्छ र पनि
म, मायाले माया साट्न सक्दिन
आँसु रोकेर आँखामा, कठोरता अङ्गाल्दै
विवशताको पगरी भिरी
आफूलाई निर्दोष साबित गर्न
म, मेरो बाल्यकाल सम्झन चाहन्न
म स्वार्थमा लिप्त, सबै बुझेर पनि बुझ्पचाउँदै
अञ्जानमै सहारा मागिरहेका ती आँखाहरूमा
आँखा जुदाई हेर्न सक्दिन
थरथर कामी रहेका ती कम्जोर हातहरू
म चाहेर पनि थाम्न सक्दिन
माया उँधो उँधो भन्थिन आमा, उँधै रैछ माया
मैले उनको मायाको ऋण चुकाउन सकिन
ती वृद्ध आँखाहरूले मेरो सहारा खोज्दा
म मौन भै सन्ततिको हात डोराउँदै हिँड्छु
अनि सोंच्छु, कुमालेको चक्र यो
भोलि मेरा हातहरूले सहारा खोज्दा
म पनि रसाएको आँखा लिई
मौनतामा पुकारि रहेको हुनेछु
अनि त्यसै गरी
म, मौन आँखाले मौनतामा प्रार्थना गर्छु
मौनाता मै उनीहरुको बाटो कुर्दै
मौनता मै म सहाराको खोजीमा
मौन भई विवशताले उनीहरुलाई बिदाइ दिनेछु
मेरा वृद्ध आँखाहरूले, त्यसैगरी
मौनतामा उनीहरुलाई मौन सन्देश दिनेछ
म, मौन भई मौनतामा उनीहरूको साथ खोज्नेछु
– ममता पन्तमिश्र (प्रकाशित समाचार दैनिक, मे २०१९)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )