~देबेन्द्र बस्याल~
आमा म जेलमा छु
मेरो मुखमा चुक्कुल ठोकिएको छ
हामतमा हतकडी लगाइएको छ
म अन्धकारमय कोठामा ढलेकोछु
म बोल्न खोज्छु तर सक्दिन
हात चलाउन खोज्छु, सक्दिन
सुदूर पूर्वको उषा हेर्न खोज्छ,ु सक्दिन
म मुढो जस्तै लडेको छु उठ्नै सक्दिन ।
आमा म दुष्टको फन्दामा होइन
भीषण लडाइको मैदानमा छैन
दन्किरहेको आगोको बिचमा हैन
सधैँ जस्तै म त्यहीँ छु, तर बन्धक छु
जसले बोल्न र लेख्न सिकायो आमा
बैरीको विरुद्ध लड्न सिकायो
फिलिङ्गोसंग खेल्न सिकायो
म आज उसैको जेलमा छु आमा
आँखाभरी टिलपिल आँसु लिएर हिंडेकोछु
गरिबको मुक्तिको सपना साँचेर
कालोलाई कालो र सेतोलाई सेतो भन्न
छातीभरि अधम्य साहस बोकेर हिँडेको छु
आमा म हार्ने छैन जितेर आउनेछु
सामन्तका जेलनेल फोडेर
दलालहरूको सत्यानाश गर्दै
एकाबिहानै क्रान्तिको गीत गाउँदै
काँधमा बन्दुक बोकेर, आउनेछु नाच्दै र बजाउँदै ।
– देबेन्द्र बस्याल, जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )