~प्रा. जगतबहादुर के.सी.~
आकाशभरि छरिएका तारा गन्न के सक्थेँ र?
मनभरि मेरा मायाका व्यथा भन्न कहाँ सक्थेँ र?
सम्झन्छु सधैँ देउरालीमाथि
पूर्णेको जूनझैँ क्या सुन्दर मुहार।
रात र बिहान सम्झना हुन्छ,
देखूँझैँ लाग्छ, भेटूँझैँ लाग्छ,
माग्दछु सधैँ सपनाको गुहार।
मिरमिरे बिहान सुन्यौ कि तिम्ले कुखुरा बासेको।
अनारदानाझैँ दाँतका लहर,
हामी दुई सँगै भेटेको साँझ,
सम्झन्छु म त चौबीसै घण्टा मुसुक्क हाँसेको।
कालोमा कालो त्यो तिम्रो कपाल खै कोरी बाटेको?
सम्झेर ल्याउँदा मुटुको धड्कन,
साँच्चिकै ठानूँ कि ख्याल–ख्याल हो सम्झौँ खै माया साँटेको!
मायाकै कारण परागको कण हावामा उडेको।
मायाकै कारण बीजको वृद्धि क्या राम्रो फुलेको।
तिमी छौ उता, म रहेँ यता, ज्यान हाम्रो टाढा भो,
ज्यान टाढा हुँदा पीरैले हो कि माया झन् गाढा भो।
मे 24, 2012
पिप्ले–७, तेह्रथुम