~केशव गजुरेल~
रगताम्मे गुराँसका ओठहरू
रगताम्मे नदीका छालहरू
विवेक हराएका मान्छेहरूका भिंडमा
घाइते सिमानामा उभिएर
मौन सगरमाथा हेरेर
चन्द्र -सूर्य झण्डालाई हान्ने बतासले ल्याएको
मृत्युको समाचार सुनेर
म, सोंच्दै छु।
रोशनीको तलासमा,
परेड हेरेर गाउँ घरमा मृत्युको
जुलुस हेरेर शहरमा नपुङ्सकहरुको
साँझको घाम सङ्गै त्यो अधमरे उज्यालोमा
थोत्रो गलैँचामा लखतरान
पल्टिएर, किताबका पाना पल्टाउँदै
हरफहरूमा भविष्यको रेखा खोज्दै
जब म, समवेदना हराएको शहरमा
घाइते परेवा छातीमा च्यापेर
बन्दुकको नालको अघिल्तिर
मनमनै जपिरहेछु, बुद्धम् शरणम् गच्छामी
तब म सोंच्छु, मेरो नागरिकताले मलाई छोडेको छ।
बन्दुकको आवाज भित्र धर्मका मन्त्रहरू सुन्न
अन्यायको पर्खाल नाघ्न
मुटु ढुङ्गाले थिचेर
मन डोरीले बाँधेर
मलाई, मेरो आफ्नै बुबाको नामबाट लिएको नागरिकताले छोडेको छ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )