~बिशोर राई “आश्रय”~
छोरोलाई…
हिज फेरि रिह्याबमा पठायो रे…
अलि-अलि थुपारेको बाकसको पैसा तिरेर पठायो रे..
धनमती र सूर्यमानको एउटै छोरा,
ईश्वरलाई माग्दा माग्दा पाएको छोरा,
सुन्दर सपना र बुढेसकालको लाठी,
जीवन र मृत्युको बिचमा
लम्पसार छ आज त्यो छोरा…!
चियाबारीको सस्तो हाजिरमा जीवन धान्ने
खाई-नखाई छोरालाई पढाउने..
धनमती र सूर्यमानको मन डढेको छ आज,
मुटुभित्र रोदनका क्रन्दनहरू भरिएको छ आज,
छोरा सुत्ने कोठाभरि…
मादक पदार्थका सामाग्रीहरू छरिएका छन् आज।
अब कसलाई दोष दिने सोच्छन् सुर्यमान्
अब कसरी मान्छे बनाउने सोच्छन् धनमती…
बाउ-आमा चियाबारी कै काममा व्यस्त,
छोरा भने आफ्नै धुनमा मस्त
छैन उसलाई कसैको वास्ता
कसलाई दिने रेखदेख..?
कसलाई दिने दोष…?
सोच्छन् धनमती र सुर्यमान्….
घरको बराण्डामा झोक्रिएर दुवै…..
त्यो छोरोलाई दुई पल्ट भो रिह्याबमा पठाएको,
हल्ला फैलिन्छन् गाउँ-घरभरि…
सुनेर सूर्यमानको शिर ढल्छ,
धनमतीको मनभित्र आमा हुनुको गर्व र खुसीहरू जल्छन्,
दुवैको बुढेसकालको लाठी भाँचिन्छ
सुन्दर सपनाहरू मनभित्रै मासिन्छन्…!
कुन अपराधको फल हो भगवान्?
अपराधबोध गराइदेऊ…
प्रश्न गर्दै मुर्क्षित बन्छन् दुवै….
तर,पनि कता-कता झिनो आशाहरूमा बाँचिरहन्छन्…
धनमती र सुर्यमान्!
छोरा सुध्रिएर आउँछ कि…
छोरा मान्छे बनेर आउँछ कि….भन्दै
मनभित्र आशाका हजारौँ हजारौँ
स-साना टुकीहरू जलाइरहन्छन्,
जलाइरहन्छन्,
जलाइरहन्छन्…!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )