~लीला उदासी~
पहिले – पहिले
दर खाने दिन सम्ममा
चेली – वेटी माइत आउथे
दिदी, बहिनी, फुपू भदै भेला हुन्थे
दुख सुखका कुरा गर्थे
रुन्थे
बर्ष भरीका पीडालाई
आँसुले पखाल्थे
राती उठेर दर खान्थे
हामी साथ दिन्थ्यौ,
गच्छे अनुसार
छिटको सारी र चोली फेर्थे
बर्त बस्थे
पूजा लाउथे
फेरि रुन्थे
विदा हुन्थे
यसरी तीज सकिन्थ्यो
तीजको अर्को परिभाषा र अर्थ हुँदैनथ्यो
तर तीज
सार्है महत्व र मर्मको हुन्थ्यो
चेली – बेटीलाई मात्र होइन
तीज केटाकेटी र माइतीलाई पनि
साह्रै रमाइलो हुन्थ्यो
यसरी तीज सबैको हुन्थ्यो ।
अहिले
तीन महिना अगाडी देखि तीज लाग्छ
धेरैका घरमा आगो लाग्छ
सारी र सुनका पसलमा भीड लाग्छ
होटेल र पार्टी प्यालेसहरू अग्रिम बुक हुन्छन्
पोते र तिलहरी आधा किलोको त लाउँछन्
तिन महिने सिजन भरी खुब नाच्छन्
दोहोरी गाउँछन्
खान्छन्, पिउछन्
बर्त र पूजाको कुरा त गौण छ
दर भनेको
नाच्नु, गाउनु र पिउनमा परिणत भइरहेछ
खीर, ढकने पाखा लागेको छ
अर्कीका श्रीमान र अर्कोका श्रीमतीमा आँखा लागेको छ
नयाँ संस्कृति निर्माण गरेको समाचार सुनाइ रहेछ तीज
विकृतिको गतिलो बोट हुर्काइ रहेछ
अहिलेको तीज ।
लीला उदासी
चारपाने –१, झापा
२०७१ भाद्र।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )