लघुकथा : विश्वविद्यालय

~होमर श्रेष्ठ~

एमएको परीक्षामा ऊ फेल भएको खबरले विश्वविद्यालय नै आश्चर्यचकित भयो ! फेल हुनुको कारण खोतल्दा नयाँ प्रोफेसरले नम्बर दिन बिर्सिएर फेल भएको रहेछ ! भोलिपल्ट विश्वविद्यालयको प्राङ्गणमा त्यो बिद्यार्थी र प्रोफेसरको जम्काभेट भयो । बिद्यार्थीले प्रोफेसरको कठालोमा झ्याप्पै समातेर थ्याच्चै बसायो । तुरुन्तै सयौँ बिद्यार्थी धुइरिए । पक्राउ परेको चोरझैँ प्रोफेसर काँप्दै निहुरियो र एकछिनपछि बिस्तारै टाउको उठाउँदै वरिपरि आँखा डुलायो । बिद्यार्थीहरू गलल हाँसे ।

बिद्यार्थी: “सर, विश्वविद्यालयमा प्रहरी आउन निषेध छ । यसपल्ट भुइँमा थ्याच्च बस्नुभयो ! अर्कोपल्ट धुलो चाट्नुहुन्छ र अनुहारमा कालो मेकअप !”

प्रोफेसर डराउँदै: “यो विश्वविद्यालयमा कहिल्यै फेल नहुने बिद्यार्थी छ भन्ने कुरो मैले हिजोमात्र थाहा पाएको हुँ । मलाई माफ गर्नोस् ! म यहाँ नयाँ छु… क्यालिफोर्निया युनिभर्सिटीमा वाक्क भएर स्वदेसमै शिक्षाको विकास गर्न फर्केको हुँ । अब हाम्रो परिचय भैहाल्यो । भुलसुधार निस्कन्छ, ढुक्क हुनुहोस् !”

“पक्का हो ?”

“एक, दुई, तीन पक्का ! अबदेखि बरु प्रश्नपत्र…! तर एउटा कुरा नबिर्सनुस्—जेजे लेखेर भए पनि उत्तरकापी भर्नुहोस् ! जति क्लीष्ट भाषा त्यति बेस ! तब मजस्ता प्राडाले नम्बर नदिई सुख ? बरु भ्रामक भाषा लेख्ने अभ्यास गर्दा हुन्छ, त्यसले काम गर्छ ! चार हरफमात्र लेखेको उत्तरकापीमा चालीस मार्क दिन प्रोफेसरको नैतिकताले दिँदैन । कसैले हेर्नै चाह्यो भने औँसीको रातमा कसरी चन्द्रमा देखाउने ?”

‘जेजे लेखेर भए पनि उत्तरकापी भर्ने रे ! क्लीष्ट भाषामा लेख्न अभ्यास गर्ने रे ! त्यति जाँगर र फुर्सद भैदिएको भए ‘टेक्स्ट’ नै पढेर पास गर्थेँ नि ! जे होस् अर्ति असल दिएको हो, प्रो.अनुभवी रहेछ !’ बिद्यार्थीले मनमनै सोच्यो र भन्यो— “प्रोफेसर साहेब, हजुर यति समझदार विद्वान् हुनहुन्छ भन्ने पहिल्यै थाहा पाएको भए चउरको सट्टा मेचमै बसेर वार्ता गर्थ्यौ नि !”

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.