कविता : म आतङ्ककारी

~यकिना अगाध~

जीउमा होइन्जेल तागत
गरियो श्रम
गर्न पाइएन जीवनमा
कहिल्यै विश्राम
र मालिकको लागि बनाइयो महल आलिसन ।

बन्न सकिन कहिल्यै
श्रीमतीको लागि मायालु पति
अभावको अन्धकार भगाउने उज्यालो बत्ती ।
छोराछोरीको लागि कर्तव्यनिष्ठ
छिमेकी र आफन्तको असल इष्ट
देशको लागि योगदान दिने सपुत ।

पाइएन छुट्टी
जब परिन् थला श्रीमती बिमारले
सकिन रुन पनि
जब खाए छोराछोरी बिफरले ।
जब पाईनन् एक ट्याबलेट औषधी
रोजिन् श्रीमतीले
खाउँला लाउला उमेरमा चिहान घर ।
स्कुल जाने उमेर न थियो
छोराछोरी पनि गए आमा पछ्याउँदै त्यही घर ।

फलाम जस्तो यो जीउ
बन्यो सुकेर सिर्कना
सकिनँ पाखुरी बजाएर काम गर्न ।
मात्र एक गाँस मागेको हुँ सास धान्न
लागेर भोकमरी ।
त्यही दिनदेखि बनेँ म
यो देश र
मालिकको आँखामा आतङ्ककारी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.