~कुबेर काका~
१
सालभरीलार्ई तिहुनको गुन्द्रुक
त्यसलाई धूप हाल्न पुर्याउनु पर्ने भुटुन तुल्याउन
साहुका हल गोरु मागेर
दमको रोगी बिस्तारै बिस्तारै
ह्याप्याक ह्याप्याक गरेर
सकी नसकी बारीमा आँतर काटदैछ ।
२
दश बर्से छोरो छिमेकीको घरमा
दसैँ भित्रिएको देखेर दौडँदै
झुत्रिएको कछाडको फेरो पक्रँदै
झुण्डिएर भन्छ खै हाम्रो दसैँ
खै मलाई ल्याई दिने भनेको लुगा
उ मौनब्रती बनेर छोरोको मुहार पढ्छ ।
३
पहिलो पालामा टीका थाप्न आएका छोरी ज्वाईहरु
पालीको खाबोमा जुम्से मरन्च्यासे पाठो ज्वाईले टगारेर
दलानमा टुक्क्रुट बस्छ
छोरी कुम्लो सहित निहुरिदै भित्र पस्छे
४
लिस्नोको थाप्लो तिर स्वाँ स्वाँ गर्दै उक्लिन्छ बुढो
ओछ्यान पल्टाएर केही मुठ्ठी कसेर बामे सर्दै
मझेरीमा बसेर आशिष दिन थाल्दछ
५
गरिबको जुनी पाइयो ज्वाइँ
मरी हाल्न पनि सकिन
गरी खान नसक्ने भएँ
फेरि डाक्टर निर जान पनि सकिन
लेखेको दवाई किनेर खान पनि सबिन
भन्दै हेल्थ पोस्टको प्रिप्केशन
ज्वाईको हातमा हाली दिन्छे सासू
६
कनी कुथी भाखा हालेर
सग्ला अक्षर उच्चारित गरेर
शिलोक पढ्ने ज्वाई
सासूले दिएको दवाईको पुर्जा
ओल्टाउछ फर्काउँछ र
कुपोषण तङ्ग्रिन नसकेको सालोलाई हेर्छ
दाबिलो जस्तो भएकी सासूतिर हेर्छ
खलाँती जस्तो स्वाँ स्वाँ गरी रहको ससुरालाई हेर्छ
दापजस्ती पालीको बलो समाएर उभिएकी स्वास्नीलाई हेर्छ
किम कर्तव्य विमुढ बनेर कुनै निर्णय सक्तैन
रिन खोजेर माइत लगाउन ल्याएको पाठो एकहोरो कराई रहेछ
भनन रिङटा छुट्छ
दुवै हात पुर्पुरोमा पु¥याएर बलले थिच्छ
सा सुको पुर्जा भूईमा फत्रक्क खस्छ
७
लोग्नेको मनोदशा बुझेर स्वास्नी निली हुन्छे
टंगारेको पाठो उसैलाई हेरेर कराई रहेछ
भाइलाई हकार्दै भन्छे
के घोडा चढेको घाँस खोजेर हाल्देन ।
कुबेर काका
तित्री गाछी, जलजले उदयपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )