~रबिन्द्र अर्याल ‘नादान’~
बर्सातले लेराएको बात्छिटा
हुर्काउनु छ भीमकाय ओडार भित्र
दिनु छ रवि किरण बिना चाँदनी सान
टुसाउनु छ छेडेर धर्ती
बजार्दै लात्ती
परेड खेलाउनु छ
टुँडिखेल जत्रो छातीमा
किन्चीत आइया आत्था हुन्न
किनकि
बाढी हुलेकी छे सेतीमा
सुसाउदै आफू भित्र भित्र
रगडियेका पत्थर शिला भित्ताहरू
चल्मलाएर
दिन्छिन् प्यासी आत्मा लाई प्राण
जघन्य अपराधी झैँ
लम्पसार पर्नु छ
दन्डीत हुनु छ कसैको लागि
भोक ले निला कलेटि ओठले
कसैको रस भिजाउनु छ
कि मानौँ कि
बन्जर जमिन मा बर्सौँ पछि
पटाएको कुलो
तर निश्चिन्त छे
उसले लेराउछे
आफ्नो क्रान्तिको आवेग
केही महिनामा
अनि फल्दिन्छे
यो रन मैदानमा
चिच्याहटसंगै
अनि बन्छे
निथ्रेयेको कालो बादल झैँ
छिन मै कपास भै
अनि चिसिन्छे सगरमाथा बनी
त्यो ममताको स्वर्गद्वार
अनि कहलिन्छे महान्
सजीव लहर फैलाउँदै
यो कुन्जी महफिललमा
बचाइ राख्छे प्रकृति बाट
जोगाइ राख्छे आपत् कालमा
तन्नेरी साल झैँ
सल्सलाउदो पर्दिन्छे जवानी
सकेर आफ्नो रित्तो झोली
माग्दिन बदलामा केही
किनकि उ पृथ्वी हो
धर्ती हो
धरा हो
परा अपरा हो
किन कि उ तिम्रो आमा हो।
-नादान
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाइएको । )