~केशव गजुरेल~
आज फेरि,
एउटा आत्मकथा जलिरहेछ
त्यो बिरानो घाटमा।
त्यही भाग्यमानी घाटका
केहि जोर समाजशास्त्र हेर्ने
आँखाहरु साक्षी थिए।
तर,
ती आँखाहरुलाई थाहा थिएन
कसको छोरा वा छोरी, के नाम जलिरहेछ।
मैले,
मडारिएको कालो धुवाँ बीचमा
नदेखे पनि देख्ने गरि आँखा खोले,
मेरै अन्जान परिवारको सदस्य थियो।
आफ्नो लागि मिठो ऋतुहरुसङ्ग कहिले जिउन भ्याएन उ।
हाम्रा लागि हेमन्त, शिशिर वा झरिमा एकाग्र जिउने गर्थ्यो उ।
हामी सबै फुर्सदिला बनिदिदा
हतारो पर्थ्यो उसलाई।
दशै, दिक्पालमा हाम्रा जिब्रोले स्वाद खोज्दा
उसको आँखि झ्याल टालिन्थ्यो।
हामीले परानुभुतिमा नपल्टाएको
धार्मिक ग्रन्थका पानाहरु
उसले आफ्नै देवालयमा पल्टाउने गर्थ्यो।
यहाँ,
रङ्गिन झकिझकाउ
सबवहानको लासको,
पुस्पबिमानमा सयर गरेर मलामी जानेहरु :-
दोभानबाट फर्किदा दोबाटोको चोकमा
रहेको उसको भट्टीमा एक प्याक लगाउने गर्थे।
उसले छोएको पानी चल्दैन थियो।
तर, हजुरबुबाको गाउँ देखी बोकेर लेराएको
एक घ्याम्पो कोदो चल्ने गर्थ्यो।
उसले पकाएको भातका सीता चल्दैन थियो
तर उसले गैरी गाउँ बाट डोर्याउदै लेराएको
एक प्लेट खसी चल्ने गर्थ्यो।
बिधालय र बिश्वबिद्धालयले घेरेको
अशिक्षित शहरका प्रत्येक घरका
प्रत्येक भान्साका भाडामा उसको
आरनको कलमले लेखिएको
महाकाव्य र खण्डकाव्यहरु छन्
जसको दर्शन र शास्त्रमा कुद्ने गर्छन्
समयका भिखारिहरु।
पबित्र फुल चढाएर
श्रद्धाञ्जली दिने ती मलामीहरु
आज उसको अपबित्र लास माथी
आशु खसाल्न सकेन।
मलामी जान भ्याएन सहर।
त्यसैले,
आज उसले सिङ्गो सहरको मलामी
एक्लै तय गरेको छ।
लोक र परलोक बीचको
झिरमा उ एक्लै आगोमा सितन बनिरहदा-
उसको शारङ्गीले बिरहको धुन बजाईरहेछ।
उसको आरनको कलमले
शोक काव्य लेखिरहेको छ।
उसको कलले फाटेको कात्रो सिलाउदै छ।
र त्यो दोभान पनि रुदै
ती अन्जान मलामीका सहर छाडेर
बिरहको गाउँतिर बग्दै छ ।
अझै ,
तिनीहरुलाई थाहा छैन
कुन लेखकको कस्तो किताब जलिरहेछ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )