कविता : उ पक्कै आउँछ

~रेशम वि.सी.~

आमा उ पक्कै आउँछ
तिम्रो अस्मिता बचाउन
उ पक्कै आउँछ
तिम्रो तनलाई
टुक्राटुक्रा पार्नेहरूका विरूद्ध
भीषण लडाई लड्न
नालापानीमा फन्फनी घुमेका
ती चम्किला खुकुरी हातमा लिएर
उ पुनः मसानघाटबाट जुरूक्क उठेर
तिम्रै निम्ति आउँछ
त्यसैले उ पक्कै आउँछ
उ सक्दैन तिम्रो देश
दुष्टले लुछिरहेको हेर्न
तन चिराचिरा पारी बाँडेको
अनि मन छिया छिया पारेको
सक्दैन टुलु टुलु हेर्न
त्यसैले उ पक्कै आउँछ
आफू मरेर पनि
तिमीलाई मर्न दिन्न आमा
किनकि तिम्रो प्यारो सन्तान
हिजो पनि लडेथ्यो
अनि लड्दा लड्दै मरेथ्यो
उ मसानघाटमा पुगे पनि
कहिल्यै नमर्ने गरी बाँचेथ्यो
त्यसैले उ पक्कै आउँछ
एका विहानै मिरमिरेको
लालकिरणसँगै
क्रान्तिको लागि
विद्रोहको ज्वाला दन्काई
लालकिल्ला तयार गर्न
इन्क्लाबको आवाजले
दुष्टहरूलाई थर्काउँदै
न्याय, समानताको खातिर
लड्नु छ उसलाई
त्यसैले उ पक्कै आउँछ
आमा उ पक्कै आउँछ ।

–दाङ

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक 43 – Sep. 18, 2013 – २०७० असोज २ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.