~विशाल दर्लामी~
खै किन हो ?
आज–भोलि मेरा आँखाहरूमा
देश रोइरहेको पाउँछु
हिमालका चुचुराहरूमा
पहाडका वनजङ्गल
अनि, तराईका समथर मैदानहरूमा
सयौँ गल्छी
अनि, हजारौँ घुम्तीहरू पार गर्दै
बगिरहने नदीका छाल
अनि, सुसासहटहरूका
देश रोइरहेको पाउँछु
तन्नेरी पुस्ताको अभावमा
सुनसान गाउँबेशीहरू
रोइरहेको भान हुन्छ
सहाराविहीन वृद्धाहरू
बैशाखीको सहारामा
सकी–नसकी उकाली ओराली
अनि, ओराली उकाली गरिरहँदा
पटपटी फुटेका पैतलाहरूमा
रोइरहेको पाउँछु मेरो देश
बलेसीको पानीले
खाल्टाखुल्टी पारेको आँगनीमा
चिरबिर भगेराहरूसँग खेल्ने
ती कोमन नानीहरूका आँखामा पनि
देश रोइरहेको देख्छु
सुख, संविधानको खोजीमा
माटोलाई बिर्सिन बाध्य
आफ्ना खसमहरूको पीडाले
बेली, चमेलीहरूले
वनै उचाली गाउने
वीरहरूका कण्ठहरूमा पनि
आँशुको सङ्गीत भेटाउँछु
खै किन हो ?
अचेल गाइने दाइले रेट्ने
सारङ्गीका भाकाहरूमा
मादल अनि, मुर्चुङ्गाहरूमा
कविका कविताहरूमा
लेक–बेशीहरूमा
पहाडका चुचुराहरूमा
अनगिन्ती रोदन भेटाउँछु
यी र यस्तै वेदनाले
विक्षिप्त मनहरूमा
रोइरहेको भेटाउँछु
मेरो देश ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १९ – Apr. 1, 2015 – २०७१ चैत्र १८ गते, बुधबार )