कविता : बधाइ

~एम.एल. ओली~

आमाको आँशु झरेको थियो छातीमा टेकेर
पहिलो बेत गर्भको शिशु तुहेको देखेर
मिलेन सल्लाह बल्झियो काल समय घर्कियो
छिनेको मेरो कम्मरदेखि जगत थर्कियो ।

पहिलो शिशु जन्मेको थियो साहसी वीरको
बुझेन कुरो कलिलो थियो नेपाली शिरको
पुगेन चारो थपेर निल्यो खञ्चुवा भइदियो
डाक्टर–वैद्य साथमै हुँदा भुक्लुक्कै गइदियो ।

उन्नत बिज खोजेर धेरै रोपियो सबेर
जन्मियो आज बिराइ किलो नगरी अबेर
अनौठो गुण बोकेको जस्तो जवान देखियो
आमाको माया छातीमा राखी मुटुमै लेखियो ।

चेहरा आज हँसिलो भयो गाउँ र शहर
फालियो गौँडो टारियो खड्को पुगे छ रहर
जन्मँदै आगो सल्कायौ आज कसको मतिले
रोजेर कालो पोशाक दिए आफन्त कतिले ।

आएको थियो निस्ठुरी बनि फर्कियो कनेर
बुद्धको वंश जन्मियो शिशु गर्ने छु भनेर
निलोमा रातो भरेको बुट्टा पोशाक जुराएँ
दीर्घायु होला भनेर यस्को भाकल पुर्‍याएँ ।

सहिद हाम्रा भएर राजीखुशीले हाँसेको
आमाको आँशु पुछेर आज पिरती गाँसेको
सन्तान काख च्यापेर आमै हँसिलो बनायौ
बैरीको चाल बुझेर झनै कसिलो बनायौ ।

सबैको चित्त बुझाइ देउ मानव जातिको
मशाल बाली भगाइ देउ दानव रातीको
हिजोको कुरा बिर्सेर आज हाँसेर गाएछौ
कामना गर्छु बधाइ दिन्छु मिलेर आएछौ ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.