~मिनेन्द्र भण्डारी ‘निश्चल’~
हिजो संगै लडेका हौं युद्ध
बसेका थियौं एउटै शेल्टरमा
र,कसेका हौं सयौं मोर्चाहरु ।।
अपशोच !
डराएर क्रान्ति यात्रादेखि
तिमी हराएका हौ जनशिविरबाट
र, बेचेर त्यही अलिकती उपलब्धी
पाएका हौ अवसरको त्यो सत्ता ।
तर म त्यही मोर्चा संहाल्दैछु –
जो तिमी स्वयंले सिकाएका थियौ ।।
महोदय !
हजुरलाई नै सत्तासिन बनाउन
र, सत्तामै टिकाई राख्न
म एउटै लडाकु –
दुई-दुई पटक लडिरहेछु
हो म दुई-दुई पटक मरिरहेछु।।
अन्ततः
तिमी पनि प्रश्नहरूकै कठघरामा छौ
तर अप्ठेरो नमान कमरेड ,
अन्तिम एउटै अनुरोध छ मेरो –
सत्ता- मधुमासबाट एकैछिन बाहिर निस्क
र, हेर –
विगत र वर्तमानको तिम्रै युद्ध-अभियान
के त्यो अनागरिकहरुले चलाएका थिए –
या, तिमि स्वयं थियौ-अनागरिकहरुको अगुवा??
समयको भद्दा मज्जाकसगैं –
म अझै गतिशील छु यतै
मौका सहि छ शासक !
आउ , च्याप्प समाउ
र, मेरो निधारमै दाग गोलि
तिम्रो सत्ताको विरुद्ध –
सहादत नै प्रिय छ मलाई ।।
(गैरन्यायिक हत्याको विरुद्ध : तिर्थ घिमिरे र कुमार पौडेलमा समर्पित)
मिनेन्द्र भण्डारी -निश्चल
दोरम्बा -६, रामेछाप
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )