~किरण सिटौला~
जमरकोटे काइँली
हिजो बिस पुगेर आज एक्काइस लागिछिन
उन्माद उनको भख्खरै चढेको वैसमा
हिँड्दै भाँचिएला जस्तो उनको वदनको चालले
पाउला फेरी हलक्कै हल्किएको नुतन बिरुवा जस्तो
हिजो की मुना
आज आकाश छुने वृक्ष्य बनिछिन
बाटोको तोते बोल्ने बच्चाले शुद्ध
आज काईलीलाई
तिमी सेक्सी छौ भन्दै जिस्काउँदा
रातो लालीमा ओठ टोकी
मुसुक्क हासिदिदै
कोइलीको भाका फेरी
हिजो सम्म गाउँमा सेलोको भाका टिपी हिँडेकी काइँली
पुतलीको सरी भेष धारी
हिजो सम्म गाउँमा देउडा नाच्दै हिँडेकी चेली
हिजोकी घाँस दाउरामा लिप्त काइँली
आज अमेरिकाको सफा बस्ती र बाटोमा
सवार भई हिँड्छिन् उनी आफ्नै चिल्लो गाडीमा
जमरकोटे काइँली
जमरकोटे वाट JASMINE बनिछिन
विदेशी हुइस्की को नसामा
मदहोस बनी ती रातहरूमा
गाउँको काईलो सँग गाँसेको प्रेमको एकोहोरो तृष्णा
अमेरिकाका गल्ली गल्ली र बस्ती हरूमा
कतै खोज्दै होलिन्
उही मीठो सम्झना
जमरकोटे काइँली
सुस्मिन धरातल आफ्नै माटोको यादमा
स्वर्गरुपी आफ्नै गाउँको स्मृति
कयौँ सपना बोकी उडेकी थिइन्
त्यही कोटेस्वरको आकाशमा
आज गन्दा तीस वर्ष बितिसकेछन्
एक्लो निराशपनमा सुस्ताउदैछिन काइँली
कयौँ कोष टाढा अर्कैको देशमा
बिचल्लित बनी पिलपिलाउदा उनका आँखाहरू
आज आफ्नै गाऊँ आउँदा
विदेशी भन्दै अपमानित हुन्छिन् काईली
प्रत्येक पल र प्रातहरु
आफ्नै देशको यादमा डुबेर
न अमेरिकन नै बन्न सकिन काइँली
हिजोकी नेपाली कुमारी
आज आफ्नै देश आउँदा
विदेशी आगमन यात्रुको लाइनमा
झुलुक्क झुल्केकी काइँली
न घरकी न घाटकी
न यताकी न उताकी
न काईलोकी न कसैकी
सुसुप्तामा जुर्मुराएकी
कतै आफै भित्रको अन्धकारमा हराएकी
न जीउदो जस्ती न मरेको जस्ती
आफै भित्रको एक्लोपनमा खल्बलिएकी
जमरकोटे काइँली
आज जीवनका पचासौं वर्ष काटी उकालो लागिरहँदा
पूर्व जन्मिएर कठिन जीवन पश्चिममा काटिरहँदा
अस्ताउंदो सूर्य बनी उदाउँदो मिरमिरेको प्रतीक्षामा
आज अमेरिकाका तीनै गल्ली र बस्तीहरूमा
जब नेपाली मूलका दोस्रा पीडी
ती कलिला मुनाहरू देख्छिन् बाटोमा
बुद्ध र सीताको महिमा छर्न पुग्छीन काईली
धरातल बिर्सी सुतिरहेका ती बच्चा बच्चामा
स्वदेशको ममता छर्न पुग्छीन काइँली
कहाँ कहिले र कस्तो रफ्तारमा
यो नयाँ परिवर्तनको नर संहारमा
नेपाललाई प्रेम गर्न नेपालमै बस्नुपर्छ यो मान्दिनन् काईली
सारा उर्ली विदेशीको उपनामले उनी माथि चिच्याउदा
विवस्ताको साङ्लोले उनलाई उतै बांधिदिदा
आखिर ढुकढुकी त उनको पनि नेपाली नै थियो
ढुकढुकी त ती नयाँ पीडीको पनि नेपाली नै हो ।।
(जहाँ रहे नी आफ्नी आमा र देशलाई कसैले भुल्न सक्दैन ।
चाहे पुस्तौं पुस्ता किन नबितोस् । लाखौँ कोसिस कसैले किन नगरोस् ।
जय नेपाल ।।)
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )