~मोजेस हृदय त्रिखत्री~
मेरो जातीका वीरताका गाथाहरु
नानी नसुत्दा,
आमाले सुनाउने दन्त्य कथाहरु भएकाछन्।
खुकुरीले पनि,
दापभित्र बस्दा-बस्दै
धारहरु गुमाइसकेछन्।
आन-बान-सान हुने गर्थ्यो पहिले-
हाम्रो पाडे टोपी!
हिजअस्ती पहाड बन्द हुँदा
निःशुल्क राहत सामग्री बाँडिए झै
थाङ्ने-माङ्ने सबैको शीर ढाक्ने
कात्रो भएको छ हिजोआज!
हाम्रो जातीय भेष-भुषा-
दौरा सुरुवाल र चौबन्धी चोली
बस् जुलुस जाँदा लगाउने
“ड्रेस-कोड” भएका छन्।
शङ्का हुन्छ मनमा
प्रश्न उठ्छ मनमा
-स्कुल जाँदा विद्यार्थीले लाउने
“स्कुल ड्रेस” झै
-अफिस जाँदा कर्मचारीले लाउने
“ड्युटी-ड्रेस” झ
कतै हाम्रो चौबन्धी चोली र दौरा सुरुवाल
जुलुस जाँदा मात्र लगाइने “जुलुस-ड्रेस” त भएका छैनन्?
कहाँ हरायो हाम्रो जातिको वीरताका गाथाहरु?
कहाँ हरायो हाम्रो खुकुरीका धारहरु?
कहाँ खस्यो हाम्रो पाडे टोपीका गहनता र महत्त्व?
कहाँ लुप्त भयो हाम्रो जातीय भेष-भुषाहरु?
-हन! कसरी गिर्न सक्यो हौ मेरो जातिको गौरव?
प्रशन उठ्छ मनमा
-“म गिरेको छुइनँ हजुर, गिराइएको छु”
प्रतिउत्तरमा उ बोल्छ।
व्यापार हुने गर्छ
मेरो जातिको अस्मिता, गौरव र वीरताका गाथाहरुको- राजनीतिको बजारमा
नाप-तौल हुन्छ
दाम लगाइन्छ
लिलामी हुन्छ
अनि अन्तिम बोली लगाइन्छ।
मानौं, बीच गल्लीका फाँटहरुमा
साग-सब्जीको व्यापार भए झै
व्यापारीले पहिले दाम तोके झै
किन्नेले दाम घटाए झै
अनि दुवै बीचको सम्झौतामा अन्तिम दाम बोलिए झै।
हो हजुर,
यसरी नै व्यापार हुने गर्छ
मेरो जातिको अस्मिता, गौरव र वीरताका गाथाहरुको,
राजनीतिको बजारमा।
म त्यो दिनको प्रतीक्षामा छु
जब मेरो जातिको गौरव फेरि फर्केर आउँछ
म त्यो दिनको प्रतीक्षामा छु
जब बोधो खुकुरीमा फेरि
धार टलक्क टल्किन्छ
म त्यो दिनको प्रतीक्षामा छु
जब आन-बान-सान हाम्रो पाडे टोपी
पुनः आदरको शिरमा सजिन्छ
म त्यो दिनको प्रतीक्षामा छु
जब हाम्रो जातीय भेष-भुषा,
दौरा सुरुवाल र चौबन्धी चोली
पुनः वीर-वीरङ्गनाको शरीरमा सजिन्छ।
हो! म त्यो दिनको प्रतीक्षामा छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )