~नविन ध्यार~
वसन्त यामको न्यानो साथ हराए पछि
हरिया पालुवा झरेर नाङगो बनेको
खोक्रो पतझर रुखसँग
तिमी के मित्रता खोज्छौ,
म यहाँ मित्रता
रक्सीको चुस्कीसँग साटिएको देख्छु
बदामको सितनसँग सादिएको देख्छु
चुरोटको धुवासँग बाधिएको देख्छु ।
दिनभरी आहारा खोज्दा खोज्दै
एक्कासी कालो बाक्लो हुस्सु लागे पछि
आफनो गुड विर्सेकी चरीसँग
तिमी के साहारा खोज्छौ,
म यहाँ साहारा
आफन्तको फरीयाको फेदमा झुण्डिँदा देख्छु
स्वार्थको सिद्धान्तमा फासी दिँदा देख्छु
स्त्रीको ’त्री’सँग गासिँदा देख्छु ।
सृष्टिको आदिम काल देखी
माटो–पानी अभावमा उर्वरा शक्ति ह्रास भएको
यो सुख्खा मरुभुमीसँग
तिमी के लाभ खोज्छौ,
म यहाँ लाभ
देवी, लक्ष्मीको काखमा हुर्कीँदा देख्छु
मालिकको आडमा चाकरी फुर्कीँदा देख्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )