~चोमु शेर्पा “खुशी”~
तिमी मेरो र म तिम्रो हुनुमा
कति गर्व थियो
हाम्रो सम्बन्ध
नदी किनारमा लगाएको
पक्की बाँध भन्दा बलियो लाग्थ्यो
जसलाई न त बाढीले बगाउन सक्छ
न आँधीले भत्काउन
तर म गलत रहेछु
न बर्षाको बाढी चाहियो
न त चैत-बैशाखको हुरी-बतास नै
अकस्मात तिमीनै
मेघ झैँ गर्जियौ र
बर्षियौ चट्याङ बनेर
जसले गर्दा भत्किन बाध्य भयौं ।
सबैले भन्थे :वर-पिपल जस्तै जोडी
सायद डाहा नगर्ने कोही थिएनन्
तिम्रो मस्तिष्कमा कसले के भरी दियो
त्यसपछि जिन्दगीमा
अचानक आँधी-तुफान आयो र
जबर्जस्ती उडाइदियो
सम्बन्धको छानो ।
बिश्वासले बाँधिएको भए
त्यो हुरीले सक्ने थिएन उडाउन
सगरमाथा जस्तो हाम्रो शिर
ढल्ने थिएन
बाटो झैं लम्पसार हुन्थेन ।
मक्किएको ढोड भयौ तिमी
त्यसैबाट चुँडिन लागेको
पात जस्तो भएँ म
थोरै अडिएको
अनि तह-तहमा बिभाजित
सारा तत्व नष्ट भए
जसले हाम्रो सम्बन्ध जीवित रहन्थ्यो।
सायद किस्मतको खेल थियो
या हाम्रो बिचारको उल्टो तालमेल
पत्तै भएन
आ-आफ्नो घमण्डमा अडिक थियौं
ठूल्ठूला बिद्रोहको आगो सल्क्यो।
घर रणभूमी बन्यो
भित्र-भित्रै युद्ध भयो
आक्रमण जसले गरेपनि
क्षति दुवैको भयो
मैले जित्न चाहिनँ
तिमीले हार्न चाहिनौ
मेरो दिल क्षत-बिक्षत बनेर
उजाड मरुभूमी झैँ भयो।
तिमीले जित्यौ,मैले हारें
तिमीले मलाई छोड्यौ
मैले संसार छोड्न खोजें
तर छोड्न सकिन
सायद तड्पिएरै बाँच्नु
समयको माग थियो।
लामो समयसम्म
म भित्रका बिचारहरुको
घमासान अन्तरसंघर्ष चलिरह्यो
संघर्ष उत्कर्षमा पुग्यो
म बिस्फोट भएँ
धमाका ठूलो थियो तर आवाज थिएन
आफ्नै बिचारको द्वन्दबाट
अन्ततः एउटा निचोडको जन्म भयो
मनले आदेश दिँदै भन्यो
‘विगत छोड,वर्तमान अंगाल’
परिणामस्वरुप
हिजो तिमीले छोडेको रिक्त-स्थानमा
आज पदपूर्ति हुँदैछ ।
– चोमु शेर्पा “खुशी”
साघु ८ ताप्लेजुंग
हाल : दमक, झापा