कविता : नेतृ जन्माउने रहर

~मनु वि.क.~

आजभोलि म देख्छु
डाँडा, पाखापखेराहरू
हराभरा हुन खोज्दैछन्
पालुवाहरू हुर्कनलाई
हावाहुरी र असिनाको चुटाइसँग पौँठेजोरी खेल्दैछन्
सुतिरहेका नानीहरू
मिर्मिरेको आभासँग उठ्दैछन्
अचेत अचेत कहलिएकाहरू
कठिनाइँका बेगसँग जुध्दैछन्
ऊ त्यो पल्ला काँडा र वल्ला डाँडामा
गाउँशहर र बस्तीहरूमा च्याचिएको चप्पल गाँसिँदैछन्
उध्रिएका फरियाहरू टालिँदैछन्
हिमाल, पहाड तराईमा
विविध जातजाति र संस्कृतिहरूमा
एक दियो बल्दैछ
समयका हरेक पलमा
नयाँ कदम चालिँदै छ

असहाय, अबला बनाइएकाहरू
सुस्त, सुस्त जाग्दैछन्
मुट्ठी उठाउँदै
सङ्घर्षको मसाल बोकी
युगौँयुगदेखि थोपरिएका
वेदनाहरू वकल्न तँछाडमछाड गर्र्दैछन्
सङ्घर्षको मोर्चामा विचार नढल्ने विश्वास लिएर
यातना र अवरोधले नगल्ने वाचा सहित
निस्कँदैछन् बन्द ढोका फेरि
चुला, चौका र कुसंस्कारको जञ्जिर तोडी
सबै आमा, दिदी र बहिनीहरू
बुहारी, अमाजु र मितिनीहरू
हो हो र हा हा गर्दै
पूर्वको लाली बनेर
सारा संसारै धाउँदैछन्
बलिया हुँदैछन् आवाजहरू
झन् झन् अस्ति, हिजो र आज गरी
यिनका यी आवाजहरूका विरुद्ध
खिसिट्युरीको भाषा आए झैँ लाग्छ,
कतै कुनाकाप्चाबाट
कसैले “खुबै नेतेनी भैकी” भन्दै
गिज्याए झैँ लाग्छ
चिया पसल र भट्टीहरूमा
‘बेकारी’ हरू बौलाए झैँ लाग्छ
ताल न बेतालसँग बरबराए झैँ लाग्छ ।
गरुन् खिसिट्युरी गर्नेहरू खुबसँग
‘बौलाउन’ सारा बेकारीहरू
सज्जनहरू त जानु छ धेरै टाढा टाढा
किनकि,
जन्माउनु मन छ धेरै नेतृहरू
फाल्नु छ धर्तीका ऐजरू र सबै काँडा ।

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४५ – Oct. 22, 2014 – २०७१ कार्तिक ५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.