कविता : सडक

~गोविन्द प्रसाद आचार्य~

सडकमाथि पानी हैन पानी माथि सडक बग्यो ।
पानीमाथि बग्दा सडक देशको बजेट पनि लग्यो ।।
बजेट संगै देशमा बस्ने मानिसको जीवन लग्यो ।
बजेटले बनाएको विकासको सडक बग्यो ।।

सडकमा मनपरीको तन्त्र नाँचेको छ ।
सडकको बजेटमा ठेकदार बाँचेको छ ।।
ठेकदारले यो देशको ढाड बाँचेको छ ।
ठेकदारले ढाड बाँच्दा शासक हाँसेको छ ।।

पानीमाथि सडक बग्दा सुख बगेको छ ।
देश गिलो सडक हिलो दुष्ट जागेको छ ।।
जतापनि टालेको छ बजेट फालेको छ ।
सडकले ठूला भुँडेहरु पालेको छ ।।

हरामीका जात परे हाम्रो सडकमा ।
हरामीले काँडा छरे हिँड्ने सडकमा ।।
सडकको माटो पनि चाटी पुछि खाने ।
विकासको शिखरमा कैले होला जाने ।।

सडकको माटो खाने चित्त्त कति सानो ।
सडकको बजेटमा लुतेराको छानो ।।
राम्रो सडक नबनाउने लुटेराको बानी ।
सडकको बजेट हेर्छ आँखा तानी तानी ।।

राम्रा कुरा सडक जस्तै भत्किएर गए ।
सडक पेटी भत्काएर कमाई खाने भए ।।
भत्काएर देशलाई लगे रसा तलमा ।
छट्टु बानी चोर कुरा बेविचार छलमा ।।

सङ्घर्षमा सडक पनि नउठेर हुन्न ।
नबनाउने भत्काउनेले सुख शान्ति दिन्न ।।
सडकमा बजेटको खोलो बगेको छ ।
भत्काएका सडकले देश सकेको छ ।।

कहिलेसम्म भत्काउने हो नवउने झाली ।
जाली हरु फाली कन देश गराउँ खाली ।।
भत्किएका सडकमा देश हिँड्ने कैले ।
कतिन्जेल सहने हो दुःख सास्ती जैलै ।।

सडकले नयाँ युग खोजी उठ्नु पर्छ ।
दविएका जीन्दगानी सल्बलाउनु पर्छ ।।
सडकले लाउनुपर्छ रुप फेर्ने नारा ।
सडकलाई हेरेका छन् आकाशका तारा ।।

न त दोष माटोलाई नत बाटोलाई ।
दोष पनि रिस पनि बजेट सक्नेलाई ।।
खानु खाए देशको बजेट सडक बन्य छैन ।
बनाउने आशा अझै मरिसक्य छैन ।।

फराकिलो छाति हाम्रो हिम्मतिला हात ।
राख्ने छैनौं संसारमा अन्यको जात ।।
आज सडक खानेहरु भोली देश खान्छन् ।
सडकहरु ताते भने कठघरामा जान्छन् ।।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ३४ – July 20, 2016 – २०७३ श्रावण ५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.